अछामको मेल्लेख गाउँपालिकाद्वारा अपाङ्गमैत्री बस सेवा सञ्चालनमा

२७ कार्तिक २०७७, धनगढी । अछामको मेल्लेख गाउँपालिकाले बुधवारदेखि आफ्नै पालिकामा अपाङ्गमैत्री बस सेवा सञ्चालनमा ल्याएको छ ।
नागरिकको सहजताका लागि बस सेवा सञ्चालनमा ल्याएको उपाध्यक्ष धनबहादुर शाहीले बताए ।
गाउँपालिकाले ७७ लाखमा दुई बस खरिद गरेर ई–टिकट, सिसिटिभी क्यामेरा, जिपीएससहित अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको हो ।
बस मेल्लेखबाट साँफेबगर, बयलपाटा, जयगढ र मंगलसेनसम्म सञ्चालन हुने छ ।
बस सञ्चालनका लागि साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मंगलसेन नगरपालिकाबाट रुट प्रमिट प्राप्त भएको गाउँपालिका उपाध्यक्ष शाहीले बताए ।
बस आएपछि जीपमा ३ सयदेखि ५ सय रुपैयाँ तिर्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय लालबहादुर चदाराले बताए ।
यो ३० सिटे बसमा कच्ची सडकमा प्रति किलोमिटर ९ रुपैयाँ ५ पैसा र पक्की सडकमा ४ रुपैयाँ ५ पैसा भाडा निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।