अध्यक्ष नेपालको व्यंग्य: ‘एमालेको झण्डा अब बाँदरलाई सुम्पिदिए हुन्छ’

सुनसरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले कम्युनिष्ट पार्टीको झण्डा गैँडालाई सुम्पिदिए, अब बाँदरलाई पनि सुम्पिदिए हुन्छ भन्दै व्यंग्य गरेका छन् ।
सुनसरीको इटहरीमा प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले एमालेले मार्क्सवादको मूल्यमान्यता र जनताको बहुदलीय जनवादलाई नारायणी नदिमा तिलाञ्जली दिएको आरोप लगाउँदै उनले एमालेको झण्डा बाँदरलाई सुम्पिदिए हुन्छ भन्दै व्यंग्य गरेका हुन्।
एमाले अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले टिप्पणी गरेका छन्।
नेता नेपालले ओलीको निरङ्कुश शैलीको बारेमा जानकार हुँदाहुँदै पनि एमालेमै रहेका उनीहरू अहिले घरको न घाटको भएको आरोप लगाए।
पार्टी नयाँ निर्माण गर्ने अन्तिम समयमा आफलाई धोका दिएका भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य लगायतका दश जना नेताहरू आउँदा दिनमा अझै पीडित हुनुपर्ने उनले ठोकुवा गरे।