अध्यागमन विभागले भिजिट भिसामा विदेश जानेलाई १५ लाखको बिमा अनिवार्य गरिँदै

काठमाडौं । भिजिट भिसामा विदेश जानेलाई बिमा अनिवार्यको लागु हुने भएको छ ।
अध्यागमन विभागको प्रारम्भिक छलफलमा भिजिट भिसाको लागि विदेश जानेहरुको लागि बिमा अनिवार्य लागु गराउन लागिएको विभागका निर्देशक टेकनारायण पौडेल बताए ।
केही समयअगाडि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले बुझाएको रिपोर्टअनुसार न्यूनतम १५ लाख रुपैयाँको बिमा गर्नुपर्ने सुझाव पेस गरेको थियो । आइतबार भएको बैठकले त्यो १५ लाखको बिमाभित्र के–के समेट्ने भनेर छलफल भएको समेत पौडेलले जानकारी दिए ।
आज भएको छलफलमा तत्काल बिरामी भएमा उपचार खर्च कसरी पाउने, दुर्घटना भएमा उपचार खर्च कसरी पाउने, यात्राको समयमा मालसामान चोरी भएका मालसामानको क्षतिपूर्ति कसरी पाउने भनेर प्रारम्भिक छलफल भएको उनले बताए ।
आज अध्यागमन विभागले आयोजनामा भएको उक्त प्रारम्भिक छलफलमा नेपाल राष्ट्र बैंक, वैदेशिक रोजगार विभाग, अध्यागमन कार्यालय, बिमा समितिका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।