अन्ततः रोकियो एसईई, विद्यालयकै परीक्षालाई ग्रेडिङको मान्यता दिइने

काठमाडौं । सरकारले यसवर्षको एसईई परीक्षा नलिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यमिक शिक्षा कक्षा दशको अन्त्यमा हुने परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।

“संघीयताको मर्म अनुरूप नयाँ शिक्षा विधेयक तर्जुमाका लागि नेपाल सरकार, मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भई, विधेयकको मस्यौदा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय सहमतिका लागि पठाइएको अवस्थामा सो विधेयक संघीय संसदबाट पारित भई लागू हुँदा माध्यमिक शिक्षाको कक्षा दशको अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रूपमा व्यवस्थापन हुनेछ,” उनले भनेका छन् ।

यसवर्षको एसईई परीक्षा चैत ६ गतेदेखि तय भएको थियो । कोभिड–१९ विश्वव्यापी महामारी बनेपछि चैत ५ गते स्थगित भएको थियो ।

“यस सन्दर्भमा, लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकोले आवश्यक निर्णय गरिएको छ,” पोखरेलले बताएका छन्, “कोभिड–१९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, विद्यालयहरूमा क्वारेन्टिन सेन्टर सञ्चालन गरिएको र यस रोगको संक्रमणको जोखिमका बीच विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी विगतमा झैँ परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीहरूको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चित गर्नु राज्यको दायित्व बोध गरेर आजको मन्त्रिपरिषद्ले निर्णय गरेको छ।”

चैत ६ गतेदेखि तय भएको एसईई परीक्षा अन्तिम समयमा मात्रै स्थगित गरिएको थियो ।

एसईई दिने तयारीमा चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी थिए भने एकहजार नौ सय ९५ केन्द्र तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button