अन्नपुर्ण पोष्टलाई पत्रकार महासंघले दियो ७ दिने अल्टिमेटम (पत्रसहित)

तोकिएको मितिभित्र पारिश्रमिक नदिए आइएलोसम्म पत्रचार गरिने

नेपाल पत्रकार महासंघले अन्नपूर्ण पोस्टलाई कडा चेतावनीसहित सातदिन भित्र हाल जिम्मेवारीविहीन बनाइएका पत्रकारहरुको पारिश्रमिक दिन अल्टिमेटम दिएको छ ।

आइतबार महासंघले पत्र लेख्दै सात दिनभित्र सम्पूर्ण सेवा सुविधा नदिए श्रम शोषण गरेको व्यहोरा जानकारी गराउँदै अन्तर्राष्ट्रिय श्रम संघगठन आइएलोलाई पत्रचार गर्ने चेतावनी दिएको हो ।

कोरोना महामारीसँगै त्यसैको बाहनामा अन्नपूर्ण पोष्टले सम्पादकीय विभागमा कार्यरत ६ जना पत्रकारहरुको पारिश्रमिक रोक्नुका साथै कामबाट पनि जिम्मेवारी विहीन बनाएको छ।

पत्रकार महासंघले अन्नपुर्ण पोष्टलाई पठाएको पत्र

लामो समयदेखि आग्रह गर्दा पनि न पारिश्रमिक दिइएको छ न काममा नै फर्काइएको छ। कोरोना महामारीका बेलासमेत पारिश्रमिक माग गर्दा पारिश्रमिक दिनुको साटो दुर्गम जिल्लाहरुमा सरुवा गरेपछि ६ जना पत्रकार न्यायका लागि महासंघ गुहार्न पुगेका थिए।

यसअघि वार्ताबाट समाधान खोज्ने अन्नपूर्णको प्रतिबद्धता अनुसार महासंघले आन्दोलन स्थगित गरेको थियो। तर, त्यसको सुनुवाई गर्नुको साटो उल्टै महासंघलाई तथ्य बंग्याउँदै माफी मागेको भनी पत्र लखेपछि यसपटक महासंघले कडा चेतावनीसहित सम्पूर्ण पारिश्रमिक उपलब्ध गराउन चेतावनीसहित पत्र काटेको हो ।

महासंघले सातदिनभित्र समस्या नसुल्झाए अन्नपूर्ण घेराउसहित श्रम शोषण गरेको व्यहोरा लेख्दै आइएलो र नेपालस्थिति कुटनीतिक नियोगमासमेत पत्राचार गर्ने बताएको छ। यस्तै, नेपाल सरकारको नियमानुसार नचलेको र श्रमिकको श्रम शोषण गरेकाले सरकारी तथा गैरसरकारी विज्ञापनदाताहरुलाई पनि सोही अनुसारको व्यवहार गर्नका लागि पत्राचार गर्ने महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button