अपराधीले पैसा र पहुँचको आधारमा खुलेआम उन्मुक्ती पाउनु दुर्भाग्यपूर्णः मेची महाकाली बुहारी

काठमाडौँ । मेची महाकाली बुहारी संयुक्त आवाज ललितपुरले प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतमार्फत प्रधानमन्त्री केपी शार्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । विहीवार जिल्ला प्रशासन कार्यालय ललितपुरमा उनीहरुले पत्र बुझाएका हुन ।
महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्धको अभियानमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएको आवाजले नेपालको विद्यमान कानुन र प्रशासनिक संयन्त्र पीडितमैत्री नभई पीडकमैत्री भएको गुनासो गरेका छन् ।
हरेक अपराधीले उन्मुक्ती पाउने र पीडित पक्ष न्यायको लागि रुदै सडकमा हिँडनु परेको र अपराधीले पैसा र पहुँचको आधारमा खुलेआम उन्मुक्ती पाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
अभियानको जारी ज्ञापनपत्रमा, ‘कानुन कार्यान्वयन हुने भए निर्मला पन्तका हत्यारा कहाँ छन् ? सुस्मिताका हत्याराहरु पुर्पक्षको लागि थुनामा छन्, करुणा, सम्झना, सन्जा, गुलाव खातुनले किन ज्यान गुमाए?’ भन्दै प्रधानमन्त्रीमाथि प्रश्न गरिएको छ ।
सभ्य समाजमा यस्ता जघन्य अपराधको घटना कल्पना सम्म पनि गर्न नसकिने भन्दै अभियानले बलात्कारी लाई फाँसी नभए सर्वस्वसहित आजीवन कारावासको सजाय माग गरेको छ । साथै वर्दिवास घटनाको निष्पक्ष छानविन र दोषी उपर कडा कारवाहीको सुनिश्चितता नभएसम्म मेची महाकाली बुहारी संयुक्त आवाज चुप लागेर नबस्ने भन्दै जना आक्रोश को कारणबाट हुने थप मानवीय तथा भौतिक क्षतिको जिम्मेवार नेपाल सरकार र स्थानीय प्रशासन हुने चेतावनी समेत ज्ञापन पत्रमा दिईएको छ ।
अभियानमा एक्येबद्धता जनाउँदै र ज्ञापन पत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले महिला तथा बालबालिकामाथि हुने गरेका हिसांका विरुद्धको अभियान सबैको साझा अभियान भएकोले ललितपुर जिल्ला प्रशासन यसबारे सचेत रहेको बताउनुभएको छ ।
उहाँँले दिनहुँजसो महिला तथा बालबालिकामाथि भएको अमानवीय घटनाले आपूmलाई दुखित बनाएकोले प्रशासनकोतर्फबाट सक्दो अभियानलाई साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ललितपुर जिल्ला संयोजकमा रेशा श्रेष्ठ
यसैबीच मेची महाकारी बुहारी संयुक्त आवाजले अभियानको ललितपुर जिल्ला संयोजकमा रेशा श्रेष्ठलाई चयन गरेको छ । यही मङ्सिर ९ गतेदेखि लागु हुने गरी उनलाई जिम्मेवारी दिईएको हो ।