अपराह्न ४ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । पछिल्लो समय पुनः पार्टी विभाजनकै संघारमा पुग्ने गरी चर्किएको आन्तरिक विवादका बीच शुक्रबार सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरुको दवाव पछि अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सचिवालय बैठक बोलाउन सहमत भएका हुन् ।

दुवै अध्यक्ष ओली र प्रचण्डबीचको ‘सहमति’ पछि महासचिवले सचिवालय बैठक बोलाउने ‘परम्परा’अन्तर्गत शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी नेकपाको सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कार्यकारी अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष ओली पक्षधरका आ–आफ्नै रणनीति छन् ।

९ सदस्यीय सचिवालयमा ओली ‘अल्पमत’मा छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक पक्षमा छन् भने ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र महासचिव विष्णु पौडेल छन् ।

शुक्रबार बस्ने भनिएको सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर ५ पन्ने पत्र पठाएका छन् ।

केही दिन अगाडि प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरुले पार्टी बैठक आह्वानका लागि सहमति जनाउन आग्रह गर्दै बुझाएको २ पन्ने पत्रको जवाफ ओलीले ५ पन्ने पत्रमा दिएका छन् ।

पत्रमा नेताहरु खनाल, नेपाल, गौतम र श्रेष्ठलाई बोधार्थ उल्लेख गरिएको छ । ओलीले ५ पन्ने पत्रमा प्रचण्डसहितका ५ नेताले आफ्नाविरुद्ध घेराबन्दी तथा पार्टीमा गुटबन्दी गरेको आरोप लगाएका छन् ।

‘पार्टीको बैठकअघि नै विभिन्न ठाउँमा गुटको बैठक बस्ने, एजेन्डा बनाउने र त्यही एजेन्डा बोकेर पार्टीको आधिकारिक बैठकमा आउने अभ्यास भएको छ, त्यसले पार्टीको निर्णयलाई कमजोर बनाएको छ,’ ओलीले ५ पन्ने पत्रमा लेखेका छन् ।

अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकारी दिइँदा समेत केही काम गर्न नसकेको पनि ओलीले ५ पन्ने पत्रमा आरोप लगाएका छन् ।
गत भदौको अन्तिम साता सम्पन्न स्थायी कमिटी बैठकबाट पार्टी भित्रको आन्तरिक विवाद समाधान भएको भनिए पनि गएका केही हप्तायता फुटकै संघारमा पुग्ने गरी नेकपाको विवाद चुलिएको छ ।

गत शनिबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ताका क्रममा ओलीले ‘सहमति’मै पार्टी फुटाउने प्रस्ताव राखेको विषय बाहिर आएपछि पार्टी फुटको संघारमा रहेको चर्चा चलेको थियो ।

कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधरले तत्काल बैठकको माग गर्दै आएका थिए भने ओलीले बैठक डाक्ने विषयलाई टार्दै आएका थिए ।

शुक्रबार प्रचण्डको नेतृत्वमा बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले गरेको निर्णयानुसार अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यले आइतबार भेटेर २ दिनभित्र पार्टीको बैठक डाक्न समयसीमा दिएका थिए ।

बैठक डाक्न भनेर ओलीलाई दिइएको पहिलो पटकको समयसीमा त्यत्तिकै सकिएको थियो । ओलीले बैठक बोलाउने विषयमा सहमति नजनाए पछि प्रचण्डले दोस्रो पटक कात्तिक २५ गते बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button