अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई धितोपत्र बोर्डको सुझाव

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर लगानीकर्ताको राहत र पुँजीबजारलाई जोगाउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई सुझाव पठाएको छ । बोर्ड आफैंले लगानीकर्तालाई राहत दिन नसक्ने तर सिफारिस गर्न सक्ने भएकाले सुझाव दिइसकेको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताए ।
“बोर्डको हातमा आर्थिक लाभ हुने खालको केही छैन,” उनले भने, “बोर्डले राष्ट्र बैंक र नेपाल सरकारसँग सेयरबजारका लागि यो गर्दा ठीक हुन्छ भनेर सुझाव दिने हो ।” लगानीकर्ताले सेयरको लागि कर्जा लिएको, कर्जा तिर्ने अथवा नवीकरण गर्ने बेला भएको, बैंक मार्जिन कल, ब्याजदरको कुराहरू हुनसक्ने उनले बताए । “त्यसैले यी विषयको सम्बोधन गर्न सकिन्छ भनेर राष्ट्र बैंकलाई अप्रोच गरेका छौं,” उनले भने ।
यस्तै अर्थ मन्त्रालयसँग करको विषयमा पनि केही गर्न सकिन्छ कि भनेर बोर्डले लिखित रूपमै आग्रह गरिसकेको उनले बताए । बोर्डले गत साता नै राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई पुँजीबजार लगानीकर्ताको विषयमा सुझाव दिएको हो । “बोर्डले के कस्तो सहुलियत दिन सकिन्छ भनेर सुझाव दिइसकेको छ, अब गर्ने र कस्तो प्याकेज आउँछ भन्ने राष्ट्र बैंक र अर्थ मन्त्रालयको हातमा छ,” उनले भने । विशेषगरी कर्जा तिर्ने र नवीकरण गर्ने, ब्याजदर तथा ट्याक्स, मार्जिन कलको विषयमा सहजीकरण गर्न सकिन्छ कि भन्ने किसिमले बोर्डले सुझाव दिएको उनले बताए ।
आगामी बजेट र मौद्रिक नीतिमा केही विषयको सम्बोधन प्रयास हुने उनले विश्वास व्यक्त गरे । यता, नेपाल राष्ट्र बैंकले असार मसान्तमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्नेलगायत विभिन्न घोषणा गरिसकेको छ ।