आईपीएलमा कोलकातामाथि मुम्बईको सहज जित

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा पहिलो जित हात पारेको छ । उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।
कप्तान रोहित शर्माको शानदार अर्धशतक अनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले सहज जित हात पारेको हो । युएईमा मुम्बईले आइपीएलमा पहिलो खेल जितेको हो ।
इओन मोर्गन, आन्द्रे रसेल जस्ता खेलाडी भएको कोलकाताले मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो ।
कोलकाताका लागि लोअर अर्डरमा ब्याटिङ गर्दै प्याट कमिङ्सले सर्वाधिक ३३ रन बनाए । उनले १२ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे ।
आफूलाई तेस्रो नम्बरमा प्रमोट गरेका कप्ता दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन जोडे । मोर्गनले २० बलमा १६ र रसेलले ११ बल खेल्दै ११ रन मात्र बनाए ।
मुम्बईका लागि ट्रेन्ट बोल्ट जेम्स व्याटिनसन जसप्रित बुमराह र राहुल चाहरले २–२ विकेट लिए । बुमराहले १६औं ओभरमा रसेल र मोर्गनलाई आउट गर्दै खेल मुम्बईको पक्षमा पारेका थिए ।