आजदेखि ‘ट्रान्जिट’ उडान बन्द

काठमाडौं । सरकारले नेपाल ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुक उड्न रोक लगाएको छ । कोरोना संक्रमण बढ्दै जान थालेपछि आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गर्ने विदेशी नागरिकको आगमनमा प्रतिबन्ध लगाएको हो ।
नेपाललाई ट्रान्जिट बनाएर आउने यात्रुबाट कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भएपछि न्यूनीकरणको उपायका रुपमा अध्यागमन विभागले अन्तर्राष्ट्रिय उडान भर्नेलाई यस्तो जानकारी गराएको छ ।
कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेकाले अर्को सूचना जारी नहुँदासम्मका लागि प्रतिबन्ध लगाएको विभागले जानकारी दिएको छ । तर नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने तथा अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि भने उडान तालिकाअनुरूप नियमित रहनेछ ।
छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा नेपाल हुँदै आएका यात्रु साउदी अरबलगायत देशमा उडिरहेको पाइएपछि विभागले तेस्रो मुलुक उड्न नपाउने निर्णय गरेको हो ।
भारतबाट हवाई उडानमा प्रतिबन्ध लागेका मुलुकमा ती यात्रुहरु नेपाल ‘ट्रान्जिट’ भई दुबईलगायत मुलुकतर्फ जाने गरेका थिए । भारतमा हाल दैनिक साढे ३ लाखभन्दा बढी कोरोना संक्रमित संख्या देखिएको छ ।
नेपालले ‘ट्रान्जिट’ उडानमा रोक लगाइपछि भारतले आफ्ना नागरिकलाई सचेत रहन ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ ।