आजबाट सुपथ मूल्य पसल सञ्चालन हुने, कति हुन्छ छुट ? (सूचीसहित)

काठमाडौं । सरकारले आजदेखि चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकामा दशैं, तिहार छठ लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको हो ।
मन्त्रालयका अनुसार यस्ता पसल मंसिंर ६ गतेसम्म सञ्चालन हुनेछ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चाडपर्व लक्षित पसल सञ्चालन गर्न लागिएको जानकारी दिइन् । यस्ता सुपथ मूलयका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
यस्तै यसपटक अनलाइन मार्फत समेत सामान अर्डर दिन सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलव्ध गराइने जनाएको छ ।
कस्तो छ मूल्य ?
सुपथ मूल्य पसलबाट खरिद गर्न मिल्ने सामाग्रीको मूल्य सूची पनि मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार नून प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यु लिटरको ८७० रुपैयाँ पर्नेछ ।
चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ। त्यस्तै सुपथ मूल्य पसलमा खसीबोका तथा च्यांग्रामा किलोको १०, चामलमा ५ रुपैयाँ, दालमा ५, सिमिलगायत गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट हुने मन्त्रालयले जनाएको छ ।