आन्तरिक पर्यटनमा टेवा दिन सातामा दुई दिन सार्वजनिक बिदा दिनुपर्छ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले हप्तामा २ दिन बिदा दिनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार राजधानीमा भएका एक कार्यक्रममा मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका मनाउनुपर्ने उल्लेख गर्दै सोहीकारण दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याइएको बताए।
आन्तरिक पर्यटनमा टेवा दिन मन्त्रालयले सातामा दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याएको उनको भनाई छ।
नेपालको अर्थतन्त्रमा वाषिर्क ८० अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड-१९ को महामारीको सबैभन्दा ठूलो मार परेको भन्दै उनले तत्काल ठूलो मात्रामा पर्यटक नआउने अवस्थामा आन्तरिक घुमफिरलाई प्रवर्द्धन गर्न खोजिएको बताए।
‘अब बल्ल कोरोना भाईरस विरुद्धको खोप प्रयोगमा आउन सुरु भएको छ, खोप शुरु भएपनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन’, उनले भने ‘यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिन आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्छ।’
दुई दिने बिदाको अवधारणामा विज्ञहरुसँग अझै छलफल र परामर्श जारी रहेको उनले बताए।
कर्मचारीलगायत सबैमा दुई दिनको बिदाले पुनर्ताजगी बनाउने र आन्तरिक पर्यटन समेतलाई टेवा दिन सक्ने भएकोले सरकारले अगाडि सारेको दुई दिन सार्वजनिक बिदा दिने निर्णय सही हुन सक्ने पनि मन्त्री भट्टराईको भनाई छ।