दाहाल–नेपाल समूहले आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहले आज बुधबार आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनमा रहेको उक्त समूहले सरकारले असंवैधानिक ढंगले संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेपछि त्यसविरुद्ध आकस्मिक रुपमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको हो ।
बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
‘असंवैधानिक ढंगले संवैधानिक निकायका पदाधिकारी नियुक्त गरे । एकपक्षीय ढंगले ७७ जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी र सदस्य नियुक्त गरिएको छ । जबकि आफैं नहुने भए पनि चुनाव घोषणा गरेर आफैं कामचलाउ भइसकेको सरकारले यस्ता काम गरेको छ । यसका विरुद्ध केही कडा कदमहरु लिनुपर्ने स्थिति बनेको छ । त्यसकै सन्दर्भमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो,’ रिजालले भने ।
वरिष्ठ नेता झलनाथ खनालले आमहडतालसम्मका कार्यक्रम घोषणा गरिने जानकारी दिए ।
यसअघि यो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध माघ २८ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।सरकारले बुधबार विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूको शपथ गराएको छ ।
संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा संवैधानिक परिषद्का पदाधिकारीको शपथ भएको हो । यसमा गत आइतबार सभामुख अग्निप्रसाद सापकोटाले पत्र पठाएर विमति राखिसकेका छन् ।
एकातिर सरकारले संविधानको व्यवस्थाविपरीत हुने गरी अध्यादेश जारी गरेर परिषद्को बैठकबाट निर्णय गरेको थियो । त्यसबारे प्रश्न उठाई दर्ता गरिएको निवेदन सर्वोच्च अदालतमा डेढ महिनादेखि अलपत्र छ । अर्कातर्फ संसदीय सुनुवाइ नै हुन नसक्ने अवस्थामा पठाइएको सिफारिसमाथि सभामुखले समेत प्रश्न उठाई कागजात फिर्ता पठाएका छन् ।