उद्घाटन खेलमा राइजिङ युथ क्लब बिजयी

रातोपाटीन्यु, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सबैभन्दा ठूलो खेलमैदान लामोसाँघुको बसन्तपुरमा पुस ५ गतेबाट शुरु भएको क्षमादेवी ग्रुप सिन्धुपाल्चोक ‘ए’ डिभिजन जिल्ला स्तरीय एन्फा लिग फूटबल प्रतियोगिताको उद्घाटन खेलमा राइजिङ युथ क्लब बिजयी भएको छ । उसले योङ जेनेरेशन क्लबलाई १–० गोलले पराजित गरेको छ ।

म्यान अफ द म्याच राइजिङ युथ क्लबका आवास योञ्जन भए । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका एवम मुख्य प्रायोजक क्षमादेवी गु्रपका अध्यक्ष होम बहादुर बस्नेत ‘राजकुमार’ ले सिन्धुपाल्चोकमा खेलकुद बिकासमा आफू लाग्दै आएको बताउदै म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।

पुस ६ गते साँगचोक युवा क्लब र कालिका त्रिशक्ति युवा क्लबले खेल खेल्ने छन् । सहयोगी तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बेद बहादुर श्रेष्ठले फूटबल लगायतका खेलकुदमा ब्यक्तिगत र संस्थागत सहयोग गदै आएको बताउनु भयो । बरिष्ठ समाजसेवी समेत रहनु भएका बस्नेत र श्रेष्ठ क्रमशः प्रमुख अतिथि र बिशेष अतिथि रहनु भएको थियो ।

उक्त प्रतियोगितामा जिल्लाका बिभिन्न स्थानीय तहका आठ वटा क्लबहरुले खेल खेल्ने छन् । जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष मनकुमार श्रेष्ठले योङग जेनेरेशन क्लब, साँगचोक युवा क्लब, चौतारा स्पोटिङ क्लब, लामोसाँघु फुटबल क्लब, राइजिङ युथ क्लब, न्यु सदाबहार युवा क्लब, जेनेरेशन युवा क्लब र कालिका त्रिशक्ति युवा क्लबले प्रतियोगितामा खेल्ने जानकारी दिनु भयो । पुस १३ गते फाइनल खेल हुने छ ।

प्रथम बिजयी टिमलाई एक लाख ११ हजार १११ प्रमाणपत्र, मेडल, शील्ड, दोश्रो हुने टीमलाई रुपियाँ ५५ हजार ५५५ प्रमाण्पत्र, मेडल, प्रत्येक खेलमा सहभागी भई बिजयी हुने टीमलाई तीन हजार टोकन मनी उपलब्ध गराइने पनि अध्यक्ष श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा सहयोग बलेफी गाउँपालिका, ब्ल्याक आवेर्स, प्राबिधिक सहयोग अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button