उपत्यकाका सीडीओबीच भर्चुअल बैठक हुँदै
उपत्यकामा जारी निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने

काठमाडौं । भोलि रातिसम्म उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णयमा पुग्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको भर्चुअल बैठक आज बस्दैछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज बिस्तृत बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने जानकारी दिए ।
उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल गर्ने तयारी गरिएको छ ।
यो छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्नेछ । यसबाट आउने रायअनुसार गृहको समन्वयमा निर्णय लिइनेछ ।
ललितपुरका सीडीओ नारायणप्रसाद भट्टले यसअघि संसदीय समितिमा दसैंसम्म निषेधाज्ञा लगाउनुपर्ने बताएका थिए ।
तर व्यवसायीले भने निषेधाज्ञा जारी रहे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।