उपत्यकामा थप एक हप्ता निषेधाज्ञा जारी रहने सम्भावना

काठमाडौं । भदौं ३ गते मध्यरातदेखि काठमाडौं उपत्यका जारी गरि दोस्रो पटक थप गरिएको निषेधाज्ञा भोलि(बुधवार) मध्यरातदेखि सकिँदैछ ।

कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको भन्दै विज्ञ र उपत्यकाका नगरपालिकाका मेयरहरुको सुझावपछि काठमाडौं, भक्तपुर र ललितपुरको स्थानीय प्रशासनले निषेध जारी गरेको थियो ।

निषेध जारी भएपनि उपत्यकामा कोरोना संक्रमण घट्दो अवस्थामा देखिएको छैन ।

भदौं एक गतेयता हिजोसमेम उपत्यकामा २ हजार ७ सय १८ जना संक्रमित थपिएका छन् ।

कोरोनाको संक्रमण समुदाय स्तरमा फैलन नदिन भन्दै निषेध जारी गरिएको भएपनि त्यसको प्रभाव भने खासै देखिएको छैन ।

तर संक्रमितको संख्यामा कमी नआएका कारण निषेधाज्ञा जारी रहने सम्भावना रहेको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञाबारे थप निर्णयका लागि तीनै जिल्लाका सीडीओबीच छलफल जारी रहेको बताइन् ।

उनले सहजताका लागि अहिले नै स्वास्थ्यका मापदण्डलाई वेवास्ता गर्न नमिल्ने भन्दै निषेधलाई जारी राख्न आवश्यक भएको बताइन् ।

‘यस्तो अवस्थामा स्वास्थ्यका मापदण्डलाई वेवास्ता गर्न सकिने अवस्था छैन, कडाइ अझै आवश्यक देखिन्छ,’ उनले भनिन्,‘निषेधको अवधि थप गर्नेबारे हामी अनौपचारिक छलफलमा रहेका छौं ।’

उनले थप एक हप्ता निषेधाज्ञा जारी रहने सम्भावना रहेको बताइन् ।

अहिले नै निर्णय भएको छैन तर परिस्थिति हेर्दा खुला गरिहाल्ने अवस्था छैन’उनले भनिन्, ‘यसबारे निर्णय गर्नका लागि हामी सम्भवत भोलि बैठकमा बस्छौं ।’

जारी निषेधको प्रभावकारीता र त्यसको असर बारे समीक्षा गर्दै अघि बढ्ने उनले बताइन् ।

तर, स्थानीय प्रशासनले निषेध लगाउने काम बाहेक अन्य कुनै गतिविधि नगरेको भन्दै जनस्तरमा भने विरोध भइरहेको छ ।

समुदायमा कोरनो फैलिएको बारे थप अध्ययन र जाँच, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापनमा सरकार र स्थानीय प्रशासन तथा स्थानीय तहहरुले वेवास्ता गरेको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button