एकीकृत समाजवादीले माघ १४ देखि १८ सम्म महाधिवेशन गर्ने, यस्ता छन् बैठकका निर्णय (पूर्णपाठ)

नेकपा एकीकृत समाजवादीले आउँदो १४ देखि १८ माघसम्म पार्टीको १० औं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले राष्ट्रिय महाधिवेशन गर्ने लगायतका महत्वपुर्ण निर्णय लिएको हो।
आगामी असोजमा एक महिना मेची महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने पनि निर्णय गरेको छ। यसको योजना तयार गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ।
मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वार्डहरुमा कमिटी गठन गर्ने र सबै कमिटीले सदस्यता वितरण गरिसक्ने समाजवादीले जनाएको छ।
महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन र प्रचारको योजना बनाएर कार्यान्वयन थाल्न सबै जनसंगठनलाई निर्देशन दिएको छ।
महाधिवेशनसम्म जाँदा केन्द्रीय कमिटी र निकायमा आवद्ध नेताहरुको कार्यक्षेत्रमा आवश्यक हेरफेर गर्न सचिवालयलाई जिम्मा दिएको छ ।