एक महिनाअघि बिग्रिएको तौलपुल स्टेशन अझै सञ्चालनमा आउन सकेन्

महेश सुवेदी / खुशमाया काउचा, भरतपुर । भरतपुर महानगरपालिका–१ स्थित आँपटारीमा एक करोड बढी खर्चिएर निर्माण गरी  बनाईएकाे तौलपुल (धर्मकाँटा) बिग्रिएको छ ।

एक महिनाअघि बिग्रिएको तौलपुल अझै सञ्चालनमा आउन सकेको छैन । तौलपुलमा भार मापन गर्ने क्रममा मालवाहक गाडी अचानक बिग्रिएर पुलमा ठोक्किन पुग्दा तौलपुलको लोड शेल भाँचिएको हो ।

लोड शेल भाँचिएपछि तौलपुल बन्द गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सुरेन्द्र बर्ताैलाले जानकारी दिनुभयाे।

ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले समन्वय गरेर तौलपुल चलाउंदै आएका छन् । तोकिएकोभन्दा बढी लोड बोक्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना लाग्नेछ । २०७७ माघ १८ गते स्थापना भएको तौलपुलमा नारायणगढ–मुग्लिन सडकखण्ड भएर काठमाडौँ, पोखरा जाने मालवाहक गाडीको तौल मापन गर्दै आएको थियाे।

विभागले एक करोड २१ लाख ७३ हजार रूपैयाँ लागतमा तौलपुल निर्माण गरेको थियाे। तौलपुल निर्माण भएपछि हालसम्म भार मापनका आधारमा बढी लोड बोक्ने झन्डै ३६ हजार सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको हाे।

उनीहरुबाट तीन करोड ८५ लाख ४९ हजार रूपैयाँ राजस्व संकलन गरिएको हाे। अत्यधिक लोड बोकेका १८० सवारीसाधनलाई यातायात कार्यालयमार्फत कारबाही गरी ६० लाख पाँच हजार रूपैयाँ राजस्व उठाइएको छ ।

चालू आव २०७८-७९ को पाँच महिनामा मात्रै ट्राफिक प्रहरीबाट १० हजार ८५० र यातायात कार्यालयमार्फत १६१ वटा मालवाहक सवारीसाधन कारबाहीमा परेका हुन्।

भार क्षमताभन्दा बढी मालसामान (ओभरलोड) बोक्ने गाडीका कारण नेपालमा नयाँ पिच भएका सडकहरु समेत छिट्टै जीर्ण हुने गरेका हाे। सडकहरु जीर्ण बन्दा दुर्घटनाको दरसमेत बढेको पाईन्छ। यसलाई नै लक्षित गरेर तौलपुल स्थापना गरिएको थियाे।

भारत तथा तराईका विभिन्न जिल्लाहरुबाट सामान बोकेर आएका मालवाहक गाडीहरुको तौल नाप्न नारायणगढ–मुग्लिङ सडकअन्तर्गत आँपटारीमा तौलपुल स्थापना गरिएको हाे।

तौलपुलले ८० टनसम्मको गाडीको भार मापन गर्न सक्छ । विभागका अनुसार ट्रकले तोकेकोभन्दा एक टन लोड बढी बोकेमा त्यसले सडकमा प्रतिकिलोमिटरमा ९७ रूपैयाँ क्षति गर्छ ।

सवारीको भार क्षमतालाई नियन्त्रण गर्न सरकारले मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका–२०७४ जारी गरेको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button