एमसीसी कार्यदलको म्याद १० दिन थपियो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्बन्धी अध्ययन गर्न गठित कार्यदलको म्याद दिन थप गरेको छ ।

गत माघ १५ देखि १९ गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटी बैठकले अमेरिकी सहायतासम्बन्धी प्रस्ताव एमसीसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । कार्यदलको म्याद १० दिन दिइएको थियो । तर प्रतिवेदन तयार पार्न नभ्याइएकाले १० दिन म्याद थप गरिएको खनालले जानकारी दिए ।

खनालले बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर म्याद थपको प्रस्ताव गरेका थिए । “प्रतिवेदन तयार पार्न थप दस दिनको समय पाएका छौं,” उनले भने । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पनि प्रतिवेदन तयार पार्न समय अपुग भएको जानकारी दिए । कार्यदलमा ज्ञवालीका अतिरिक्त भीम रावल पनि सदस्य छन् ।

केन्द्रीय कमिटी बैठकमा एमसीसी प्रस्तावबारे सदस्यहरूको मत बाझिएपछि सर्वसम्मत रूपमा अध्ययन, सुझाव कार्यदल गठन गरिएको थियो । सम्झौता अध्ययनपश्चात् अमेरिकी सरकारसँग पनि केही कुरामा प्रस्ट हुनुपर्ने भएकाले थप समयको माग गरिएको खनाल निकट स्रोतले जानकारी एिको छ । यद्यपि अमेरिकी सरकारले सम्झौताका सर्तहरू हेरफेर नहुने संकेत गरिसकेको छ ।

एमसीसी पारित गर्न हुने/नहुनेमा कार्यदलभित्रै पनि मत विभाजित छ । खनाल परिमार्जनसहित पास गर्नुपर्नेमा छन् । परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवाली जस्ताको तस्तै पास गर्नुपर्ने बताउँदै आएका छन् भने रावल पास गर्न नहुने मत राख्दै आएका छन् । यद्यपि रावल पनि पछिल्लो समय नरम बन्दै गएको स्रोतका दाबी छ ।

केन्द्रीय कमिटीले कार्यादेशअनुरूप नै मिहीन अध्ययन गरेर संश्लेषणको काम भइरहेको कार्यदलका सदस्य बताउँछन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यदलले प्रतिवेदन सुझाव मात्रै हुने र जस्ताको तस्तै मान्न बाध्य नहुने प्रस्ट पारिसकेका छन् । पोखरामा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा कार्यदलले सुझाव अन्तिम नहुने र सचिवालय आफ्नो ढंगले निर्णय लिन सक्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button