एमसीसी टेबुल भएकोमा विप्लवको गम्भीर आपत्ति, संघर्ष थप चर्काउन अपील

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले एमसीसी संसदमा टेबल गरिएकोमा गम्भीर आपत्ति जनाएका छन।
देशभक्त नागरिकको व्यापक विरोध हुँदाहुँदै पनि पाँचदलीय गठबन्धन सरकारले संसद्मा एमसीसी टेबुल गरेको र आन्दोलनकारी शक्तिमाथि क्रूर दमन गरेको भन्दै एमसीसी खारेज नभएसम्म विशेष रूपले सचेत बन्न र राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा जोडदार रूपले सहभागी हुन विशेष आग्रह गरेका छन्।
आइतबार साँझ वक्तव्य जारी गर्दै महासचिव विप्लवले भनेका छन्, ‘आज २०७८ फागुन ८ गते गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीको निर्णयअनुसार संसद्मा राष्ट्रघाती सम्झौता एमसीसी पेस गरेका छन्। अत्यधिक राजनीतिक पार्टी, देशभक्त शक्ति एवम् नागरिकहरू, बुद्धिजीवी, युवा र विद्यार्थीहरूको कडा आपत्ति, विरोध र सङ्घर्षका बाबजुद राष्ट्रघाती सम्झौता पास गर्नका लागि संसद्मा पेस गर्ने घातक कार्यको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ। देशको सार्वभौमिकता एवम् स्वाधीनताप्रति सचेत एवम् समर्पित साह्रा नागरिकहरूले उक्त राष्ट्रघाती एवम् दलालीगिरी कार्यको विरोध गर्दा आज बानेश्वर क्षेत्रमा जसरी फासिस्ट प्रकारले रबरका गोली, अश्रुग्याँस, पानीको फोहोरा र लाठीचार्ज गरेर क्रूर दमन गरिएको छ त्यसको पनि कडा रूपले विरोध गर्दछ। राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा निर्भीकतापूर्वक होमिने सबै नागरिकप्रति धन्यवाद एवम् आभार व्यक्त गर्दछौँ । साथै प्रतिरोध सङ्घर्ष गर्दा दमनमा परी घाइते हुनुभएका सबै जागरुक नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’