एमालेको १०औं महाधिवेशन आज, पाँच लाख कार्यकर्ता चितवनमा

चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि सबै तयारी पूरा भैसकेका छन । पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार चितवन आइसकेका छन ।
महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। आज दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।
महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष कमल थापासहित अन्य दलका नेता आउने एमालेले जनाएको छ।
महाधिवेशनमा नेकपा एकीकृत समाजवादीलाई भने निम्तो नदिइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए। उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाइएको तर आउने नआउने निश्चित नभएको बताए।
‘पाँच लाख कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुनेछन्’, महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले भने, ‘नारायणी नदी किनारमा शुक्रबार मानव सागर उर्लनेछ ।’ उनका अनुसार महाधिवेशन उद्घाटनअघि गैंडाकोट र भरतपुरका गरी विभिन्न सात स्थानबाट र्याली निकालिनेछ। चितवनमा ठूलो संख्यामा कार्यकर्ता उतार्न एमालेले जिल्ला–जिल्लाबाट बस रिजर्भ गरेर ल्याएको छ।
साबिकभन्दा थप सुरक्षाकर्मी परिचालन गरिएकोले सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
बन्द सत्र शनिबार बिहान ८ः३० बजे सुरु हुने र बन्द सत्रमा पनि अध्यक्ष ओली र केही विदेशी पाहुनाले स्वागत सम्बोधन गर्ने तय भएको छ। शनिबार साँझ ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भट्टराईले बताए।
महाधिवेशनपछि एमालेले पार्टीलाई स्थानीय, प्रदेश र संघीय चुनावमा केन्द्रित गराउने महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले जानकारी दिए ।