एमाले महाधिवेशन भोलीदेखि सुरु, अध्यक्ष ओली आज चितवन जाँदै

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदैछन । शुक्रबारदेखि १०औं महाधिवेशन सुरु हुने भएकाले ओली त्यसको एक दिन अगावै चितवन जान लागेका हुन् ।
अध्यक्ष ओली आज सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीहरुसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए ।
एमाले अध्यक्ष ओलीले आज महाधिवेशनस्थल, बन्दसत्रहललगायतका स्थानहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमालेका अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि चितवनमा आउने क्रम सुरु भैसकेको छ ।
नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन शुक्रबार साढे १२ बजे नारायणी किनारमा अध्यक्ष केपी ओलीले गर्दैछन । महाधिवेशनको बन्दसत्र भने सौराहामा हुने तय भएको छ ।