एसियन ओपन तेक्वान्दो च्याम्पियनसीपमा नेपालकी अञ्जलीलाई रजतपदक

रातोपाटीन्यूज, काठमाडौं । नोभेम्बर १ देखि ५ सम्म पाकिस्तान भएको कम्बक्स पाँचौं एसियन ओपन तेक्वान्दो च्याम्पियनसीप जी–२, २०२३ मा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ की अञ्जली तामाङले रजतपदक जितेकी छिन ।
अञ्जलीले पहिलो गेममा बाई पाउदैं दोस्रो र तेस्रो गेममा पाकिस्तानकी खेलाडीलाई पराजित गराउदैं फाइनल गेममा प्रवेश गरेकी थिइन् । फाइनल खेलमा अञ्जलीले इन्डोनेसियाकी खेलाडीसंगको गेममा रजतपदक उपाधी प्राप्त गरिन् ।
अञ्जली उक्त खेलमा मेडल, प्रमाणपत्रका साथ पुरस्कृत भएकी छिन् । यसअघि चीनमा भएको १९ औं एसियन गेममा पनि अञ्जली नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै गेममा सहभागी भएकी थिइन् । २०२२ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय गेममा समेत अञ्जलीले नेपाल पुलिस क्लबबाट सहभागी हुदैं रजतपदक उपाधी हाँसिल गरेकी थिइन् ।
सिन्धुपाल्चोकको बिकट गाउँ यमुनाडाडाँमा जन्मेकी तामाङले स्थानीय गणेश माध्यमिक बिद्यालयमा एसएलसीसम्म उत्तीर्ण गरेकी थिइन् ।
यमुनाडाडाँ तेक्वान्दो डोजाङबाट प्रशिक्षक रोहिन्द्र बिक्रम खड्काको प्रशिक्षणबाट तेक्वान्दोको सुरुवात गरेकी अञ्जलीले त्यसपछिको प्रशिक्षण राजधानीबाट लिएकी हुन्।
अञ्जली हाल नेपाल पुलिस क्लबमा तेक्वान्दोको प्रशिक्षण लिदैँ र्आईरहेकी छिन् ।