ऐतिहासिक वैष्णवीदेवी मन्दिरमा पाटी र कलात्मकद्धारको निर्माण

ललितपुर / ललितपुर महानगरपालिका वडा नं ४ नख्खुस्थित वैष्णवीदेवी मन्दिरमा पाटी र कलात्मकद्धार निर्माण भएको छ । उक्त पाटी र कलात्मकद्धारको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे ।
यो द्धार र पाटी निर्माणका लागि ललितपुर महानगरपालिकाले ४० लाख प्रदान गरेको थियो ।
नगरप्रमुख महर्जनले समयमै काम सम्पन्न गरेकोमा धन्यवाद दिदैं गुरुयोजना अनुसार काम गर्न सुझाव दिए ।
असोजको पहिलो साता पाटी र द्धारको शिलान्यास गरिएको थियो ।
यस मन्दिर परिसरमा चारवटा घाट छन् । उक्त घाटमा मुख्यगरी ललितपुरका नेवार समुदायको दाहसंस्कार गरिन्छ ।
गुरुयोजना अनुसार यस क्षेत्रको निर्माण सम्पन्न गर्न वित्तिय संघसंस्थाको सहयोग लिन सकिने नगरप्रमुख महर्जनले बताए ।
बैंक लगायतका अन्य वित्तिय संघसस्थासँग सहयोगका लागि प्रस्ताव राख्न समितिलाई उनले अनुरोध गरे ।
सार्वजनिक सम्पत्ति निर्माणका लागि सहयोगी मन र हातसँग सहयोग माग्नुपर्ने धारणा उनको थियो ।
पुनर्निर्णाण र जिर्णोद्धारको काम गर्दा रुख विरुवा जोगाउन अनुरोध गरे ।
नगरप्रमुख महर्जनले सार्वजनिक सम्पत्ति संरक्षणमा स्थानीय जनताको भूमिका महत्वपूर्ण हुने बताए ।
महानगरपालिका सहरी विकास योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले गुरुयोजना अनुसार काम अघि बढेको बताए ।
यस क्षेत्रको गुरुयोजना तयार पारेका महर्जनका अनुसार मन्दिर परिसरमा रहेका चारवटा घाट मध्ये दुईवटा मर्मत भएको बताए ।
विद्युतीय शवदाह गृह लगायत अन्य केही महत्वपूर्ण पूर्वाधारहरु निर्माण हुन बाँकी रहेको उनले जानकारी दिए ।
वैष्णवीदेवी मन्दिर तथा शमसान क्षेत्र सुधार समितिका अध्यक्ष रत्नलाल महर्जनले कलात्मक द्धारले सुन्दरता थपिएको बताए ।
गुरुयोजना अनुसार यस क्षेत्रको पुननिर्माण र जिर्णोद्धार हुँदा यस आकर्षक हुने धारणा राखे ।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं १३का वडा अध्यक्ष गणेश केसी वडा नं ४ का वडा सदस्य सन्तोष खड्काको उपस्थिति थियो । यसैगरी कार्यक्रममा समितिका उपाध्यक्ष युवराज शाक्य, कोषाध्यक्ष सानुलाल महर्जन र सदस्य भगवान शाही सहभागी थिए ।