ओलीले आज बोलाएका दुवै बैठक खनाल–नेपाल समूहले बहिस्कार गर्ने

काठमाडौं । नेकपा नाम विवादमा सर्वोच्च अदालतले फागुन २३ गते सुनाएको फैसला पछि ब्यूँतिएको नेकपा एमालेमा आन्तरिक विवाद झन चुलिँदै गएको छ ।
अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता झलनाथ खनाल तथा माधव कुमार नेपाल पक्षबीचको विवाद मिल्नेभन्दा पनि ‘संस्थागत’ हुँदै जाने देखिएको छ ।
सर्वोच्चको फैसलापछि फागुन २८ गते अध्यक्ष ओली पक्षले केन्द्रीय समिति बैठकबाट कार्यविभाजन, विधान संशोधन र महाधिवेशन मिति तय गरेपछि एमालेको विवाद संगठनात्मक संरचना नै छिन्नभिन्न हुने अवस्थामा पुगेको छ ।
नवौं महाधिवेशनबाट निर्वाचित एमालेको वैधानिक कमिटी कमजोर हुँदा गुट बलिया भएका छन् । एमालेमा ओली र खनाल-नेपाल समूह एक-अर्काको विरोध र बहिष्कारका बीच समानान्तर गतिविधिमा सक्रिय छन् ।
अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता ओलीले आज (शनिबार) संसदीय दल र पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
तर, खनाल-नेपाल पक्षले भने ओलीले बोलाएका दुवै बैठकमा नजाने निणर्य लिएको छ ।
खनाल-नेपाल समूहको शुक्रबार बसेको स्थायी समिति बैठकले ओलीले शनिबारका लागि बोलाएका संसदीय दल र केन्द्रीय समिति बैठकमा नजाने निणर्य गरेको हो ।
शुक्रबार बानेश्वरमा बसेको खनाल-नेपाल समूहको स्थायी समितिको बैठकले संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरको साटो प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजेकाले बहिष्कार गर्ने निणर्य गरेको छ ।
दलको कार्यालय वा संसद भवनमा बैठक राखेर उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरे सहभागी हुने विषयमा विचार गर्ने नेपाल पक्षका नेताहरुको भनाइ छ ।
ओलीले आज (शनिबार) बिहान साढे १० बजे बस्ने गरी पार्टी संसदीय दलको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकबाट संसदीय दलको विधान पारित गर्ने तयारी रहेको ओली पक्षीय नेताहरुले जानकारी दिएका छन् ।
यसअघि बिहीबार बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि विशाल भट्टराईको नेतृत्वमा विधान संशोधन कार्यदल गठन गरेको थियो ।
भट्टराईसहित शेरबहादुर तामाङ र विमला राई पौड्याल सदस्य रहेको कार्यदलले पेश गरेको संशोधित विधानको मस्यौदा आज बस्ने बैठकले पारित गर्ने छ ।
संसदीय दल पछि मध्याह्न १२ बजेतिर बालुवाटारमा नै केन्द्रीय समिति बैठक बस्ने छ । केन्द्रीय समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने ओली पक्षीय नेताहरुको भनाइ छ ।
ओलीले बिहीबार बोलाएको संसदीय दलको बैठकमा समेत खनाल-नेपाल अनुपस्थित थियो ।
अध्यक्ष ओलीले फागुन २८ गते आफूहरुलाई थाहै नदिइ (एकलौटी) रुपमा गरेको निणर्य फिर्ता नहुँदासम्म ओलीले बोलाएका बैठकमा नजाने खनाल-नेपाल पक्षका नेताहरुको भनाइ छ ।
फागुन २८ को बैठकमा ओलीले आफू (अध्यक्ष) र महासचिव पद बाहेक सबै पदाधिकारीहरु खारेज गर्ने, माओवादीबाट आफूलाई साथ दिएका २३ जनालाई केन्द्रय समितिमा मनोनयन गर्ने, तथा आगामी मंसिरको २ गतेदेखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निणर्य गराएका थिए ।
खनाल-नेपाल पक्षले भने उक्त निणर्य फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ । ओलीका कदमहरुलाई एकपछि अर्को गरी ‘काउन्टर’ दिने खनाल-नेपाल पक्षका नेताहरुको तयारी छ ।
यसबीचमा खनाल पक्षले चैत ४ र ५ गते आफू पक्षीय कार्यकर्ताहरुको राष्ट्रिय भेला समेत सम्पन्न गरेको छ ।
खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलाले ओलीविरुद्ध देशव्यापी रुपमा नै ‘भण्डाफोर’ अभियान चलाउने निणर्य गरेको छ ।