ओलीले संसद मात्र होइन, शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोज्दैछन्: प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको आरोप लगाएका छन् ।
शुक्रबार राजधानीमा आयोजित सभामा उनले भने‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधि सभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्, खबरदार त्यस्ता कदमलाई यो जनसागरले त्यसलाई पराजित गर्नेछ।’
उनले न्यायाधीशहरुले पनि देशमा द्वन्द्व नचाहेको भन्दै संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरे ।
प्रचण्डले भने ‘यो देशमा फरि युद्ध होस, हिंसा होस, अराजकता होस भन्ने कसैले पनि चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधिस कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ भन्ने कल्पना पनि गर्न सक्दिन । तर केपी ओलीको स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने… फेरि युद्धमा जाने, हिंसाको कुरा पनि छैन ।
शान्तिपूर्णरुपमा यसैगरि लाखौं लाख जनता उरालेर निरंकुशता सच्याउनेमा मेरो निरन्नर प्रयास भइराख्छ । तर केपीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भयो भने शान्तिप्रक्रिया डिरेल हुन्छ ।’