ओलीसँगको वार्तापछि माधव नेपालले भने- राजीनामा दुई/चार दिनलाई टर्यो, कार्यदल बन्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरुको राजीनामा दुई/चार दिनलाई टरेको बताएका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् ।
पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, ‘राजीनामा दुई/चार दिनलाई टर्यो, कार्यदल बन्छ ।’ चपलीहाइटस्थित सञ्चार व्यवसायी रामेश्वर थापाको घरमा भएको वार्ता झन्डै साढे तीन घन्टा चलेको थियो ।
चपलीस्थित एक व्यवसायीको घरमा दुई नेताबीच भएको भेटवार्ता भर्खरै सकिएको हो । नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी भइरहेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो ।
आज बिहान ओलीले नेपाललाई टेलिफोन गरी भेटका लागि प्रस्ताव गरेका थिए । आजै बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल लगायत भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारवाही फुकुवा गरेको थियो ।