ओली सहमत नभएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बोलाए सचिवालय बैठक

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक बोलाउन सहमत नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच ४ बजेपछि छलफल हुने बताइएको छ। बैठक पार्टी कार्यालय धुम्बाराहीमा भेला गर्ने तयारी गरिएको छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले यसबारेमा टुंगो लागिनसकेको जानकारी दिए । यसअघि बहुमत सचिवालय सदस्यहरूले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठकका लागि पत्र बुझाएका थिए।
सचिवालय सदस्यहरूले बुझाएको पत्रका आधारमा विधान अनुसार बैठक बोलाउने महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए। स्रोतका अनुसार सचिवालय सदस्यहरूले बुझाएको पत्रमा प्रधानमन्त्री ओलीले विधान अनुसार गर्नु भनेर तोक लगाएका थिए।
प्रचण्डसहित ५ सचिवालय सदस्यहरू भने बैठक आह्वान गर्न ढिलो गर्न नहुने अडानमा छन्। यसअघि ओलीका विश्वास पात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड निवास पुगेका थिए । उनले ओलीसँग सहमति गर्न आग्रह गरेका थिए ।