कक्षा १२ को नतिजा अबको १० दिन भित्रै सार्वजनिक गरिने : परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी १० दिनभित्र सार्वजनिक गरिसक्ने जनाएको छ ।

कोरोना महामारीका कारण निर्धारित कार्यतालिका भन्दा निकै ढिला मंसिरमा सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा अबको १० दिन भित्र सार्वजनिक गरिन लागिएको हो ।

बोर्डले गत पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो तर अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन ।

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले विहीबार आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नतिजा प्रकाशन गर्न अझै कम्तीमा एक साता लाग्ने बताए ।

‘विद्यालयहरुले हामीले दिएको निर्देशनअनुसार उत्तरपुस्तिका परीक्षण गरेर नपठाएकाले नतिजा सार्वजनिक गर्न ढिला भएको हो । अबको १० दिनभित्र नतिजा सार्वजनिक भइसक्नेछ,’ अध्यक्ष पौडेलले भने ।

उनका अनुसार विवरण ‘इन्ट्री’ गर्ने कार्य सकिएको छ । उत्तरपुस्तिका रुजु गर्ने कार्य अझै ६० प्रतिशत बाँकी छ । उहाँले विद्यालयले उत्तरपुस्तिका परीक्षण गरेपछि जथाभावीरुपमा अङ्क विवरण पठाएको र त्यसले गर्दा नतिजा समयमा प्रकाशन गर्न ढिला भइरहेको बोर्डका अध्यक्ष पौडेलले बताए ।

‘विद्यालयहरुले जथाभावीरुपमा मार्क इन्ट्री गरेर पठाएका छन् । भद्रगोल बनाएर पठाएका छन् । केन्द्राध्यक्षलाई हामीले कसरी विवरण पठाउने भनेर तालिम पनि दिएका थियौँ तर उनीहरुमा ‘कमनसेन्स’ पनि देखिएन । मनपर्दी किसिमले उत्तरपुस्तिका पठाएका छन् । हातैले मार्क इन्ट्री गरेर पठाएका छन् ,’ पौडेलले भने ।

कोभिड–१९ का कारण बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी अङ्क कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा गणना गरिनेछ । कक्षा १२ मा करिव चार लाख ३१ हजार परीक्षार्थी परीक्षामा सम्मिलित थिए । कोभिडका कारण विद्यार्थीको पायक पर्ने विद्यालयलाई नै परीक्षा केन्द्र बनाइएकाले देशभरि चार हजार १०५ परीक्षा केन्द्र कायम गरिएको थियो ।

विभिन्न विश्वविद्यालयले यसै सातासम्म बीईका लागि आवेदन फाराम भर्न आह्वान गरेका छन् । कक्षा १२ को नतिजा ढिला भएमा विद्यार्थीहरुले बीईका लागि आवेदन भर्न पाउने अवस्था रहँदैन । बोर्डका अध्यक्ष डा. पौडेलले ती विश्वविद्यालयले आवेदन फाराम भर्न पाउने म्याद बढाउनेमा आफूहरु आशावादी रहेको बताए ।

अध्यक्ष पौडेलले कक्षा ११ को रजिष्ट्रेसन फाराम र कक्षा १२ को आवेदन फाराम अनलाइन विधिमार्फत छिटै खुला गरिने पनि जानकारी दिए ।

उनले आगामी चैत मसान्तभित्र कोर्स नसकिने भएकाले चालु शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगिएको र मन्त्रालयले उक्त प्रस्तावलाई मन्त्रिपरिषद्‌मा पठाएको जानकारी प्राप्त भएको बताए ।

पौडेलले भने ‘आगामी जेठ मसान्तसम्ममा कोर्स सकिने थियो । त्यसैले एसईई, कक्षा ११ र १२ को परीक्षा आगामी असारभित्र सक्ने गरी योजना बनाएका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button