कर्णालीमा अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्ष ‘अल्पमत’मा, मंगलबार बस्ने भनिएको बैठक प्रभावित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेकपा सांसदहरुको मंगलबार बस्ने भनेको बैठक प्रभावित भएको छ ।

माधव नेपाल पक्षधर सांसदहरु बैठकमा उपस्थित नभएपछि नेता यमलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको बैठक बस्न नसकेको हो ।

यसअघि नेकपा कर्णाली प्रदेशसभाको मुख्य सचेतक रहेका गुलावजंग शाहले मुख्यमन्त्री शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि प्रत्रिया अगाडि बढाउन मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएका थिए । तर, मुख्यमन्त्री शाहीले सोमबार प्रमुख सचेतक शाहलाई पदबाट हटाएर सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।

नवनियुक्त प्रमुख सचेतक नेपालीले कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छन् । मुख्यमन्त्री शाहीविरुद्ध नेता कँडेलको नेतृत्वमा १८ जना सांसदले आइतबार पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

पूर्व माओवादीका १३ तथा पूर्व एमालेका १५ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका भएपनि मंगलबारको बैठकमा ८ जना सांसद उपस्थित भएनन् । ८ जना सांसद अनुपस्थित भएपछि अविश्वासको प्रस्ताव दर्ता गर्नेको पक्ष अल्पमतमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button