कर्णाली प्रदेशका २ मन्त्रीलाई ओलीको निर्देशन, मुख्यमन्त्रीमा शाहीकै निरन्तरता

कर्णाली । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गरि अघि बढ्न निर्देशन दिएका छन् ।

ओलीको यस्तो निर्देशनसँगै कर्णाली प्रदेशमा तीन दिन यता नेकपाभित्र देखिएको तनाव साम्य हुने संकेत देखिएको छ । प्रधानमन्त्री ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङले कर्णाली प्रदेश सरकारका दुई मन्त्रीलाई फोन गरि विवाद थप बढाउने गरि अघि नबढ्न निर्देशन सुनाएका हुन् ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बूढालाई फोन गरेर उनले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका तर्फबाट निर्देशन दिएका हुन् । प्रदेश मन्त्री बूढाले यही सरकार निरन्तरता दिन पार्टी हेडक्वाटरबाट निर्देशन आएको बताए ।

कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले यही सरकारलाई निरन्तरता दिन निर्देशन आएको जानकारी दिइन् । उनले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट लिखित निर्देशन आउन लागेको थाहा पाएको बताइन् ।

प्रदेश सभामा नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद बल्झिएको थियो ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेकपाका अध्यक्षद्वयबीच हिजो भेटवार्ता भएको थियो । त्यसक्रममा अध्यक्ष प्रचण्डले कर्णालीमा देखिएको विवाद पार्टी एकताको मर्म विपरित आएको भन्दै मिलाउन ओलीलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button