कर्णाली विद्रोह– ओलीले बालुवाटार बोलाउँदा गएनन् प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णालीमा देखिएको विवाद सधानका लागि भनेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सामूहिक छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अनुपस्थित भएका छन् ।

बिहीबारदेखि काठमाडौंमा रहेका कर्णाली प्रदेशका नेताहरुसँग बसेर समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले शनिबार बिहान बालुवाटारमा सामूहिक छलफल आयोजना गरेका थिए ।

छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित उनीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने नेता यामलाल कँडेल पक्षका नेताहरु ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन् ।

कर्णालीका दुवै पक्षका नेताहरु आएपछि ओलीले प्रचण्डलाई पनि छलफलमा सहभागी हुन बोलाएका थिए । तर, प्रचण्डले आफूले यसअघि नै दुवै पक्षका नेताको कुरा सुनिसकेको बताउँदै अध्यक्ष ओलीलाई एक्लै कुरा सुन्न सुझाव दिएका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध नेकपा कार्णाली प्रदेशका १८ जना सांसदले पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न दुवै अध्यक्षले कर्णालीका नेताहरुलाई काठमाडौं बोलाएका थिए ।

दुवै अध्यक्षले बोलाएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेश कमिटीका सहइञ्चार्ज एवम् मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि अगुवाइ गर्ने नेता यामलाल कँडेल, प्रमुख सचेतकबाट हटाइएका गुलावजंग शाह, प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, प्रकाश ज्वाला, चन्द्रबहादुर शाही लगायत नेताहरु बिहीबार काठमाडौं पुगेका थिए ।

बिहीबार मुख्यमन्त्री शाहीसहितका नेताहरुले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए । यस्तै, शुक्रबार प्रचण्डले अविश्वासको प्रस्ताव दर्ता गर्ने कँडेलसहितको उनको समूहलाई बोलाएर कुरा सुनेका थिए ।

‘मैले दुवै पक्षका कुरा सुनिसकेको छु । अब तपाईं पनि सुन्नुहोस् । त्यसपछि दुवै बसेर समाधान खोजौला,’ अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीलाई दिएको सन्देश उद्धृत गर्दै प्रचण्ड पक्षधर एक नेताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button