कांग्रेसका ८ सहमहामन्त्रीको कार्यकक्ष एउटै कोठामा

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित आठ सहमहामन्त्रीको कार्यकक्ष एउटै कोठामा व्यवस्था गरिएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयको माथिल्लो तलामा सहमहामन्त्रीहरुको कार्यकक्ष व्यवस्थापन गरिएको छ।
पार्टीको १४औं महाधिवेशनबाट जीवन परियार, बद्री पाण्डे, महालक्ष्मी उपाध्याय ‘डिना’, उमाकान्त चौधरी, महेन्द्र यादव, फर मुल्लाह मन्सुर, किशोरसिंह राठौर र भीष्मराज आङदेम्बे सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
कांग्रेसको १४औं महाधिवेशनअघि एक जनामात्र सहमहामन्त्री रहेका थिए। यही महाधिवेशनबाट सहमहामन्त्रीको संख्या बढाएर आठ जना रहने व्यवस्था गरिएको हो। सभापति, उपसभापति र महामन्त्रीका लागि छुट्टा-छुट्टै कोठाको व्यवस्था गरिएको छ।