काठमाडाैं महानगरले मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न कार्यविधि तयार गरयो

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले श्हरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ ।
उक्त विषयमा यसअघि सरकारले जारी गरेको नियमवली र कार्यविधिलाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाउन लागेको जनाएको छ ।
सरकारले विसं २०६४ मा मानव बेचबिखनविरुद्धको ऐन, २०६५ मा नियमावली र २०७० मा कार्यविधि जारी गरिसकेको छ ।
सचिवस्तरीय नेतृत्वमा सङ्घमा र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा समिति गठन भएजस्तै नगरप्रमुखको नेतृत्वमा नगरमा समिति गठन हुने र यसमार्फत बेचविखन नियमन तथा नियन्त्रण प्रयासलाई अघि बढाउने कामपाको तयारी छ ।
सरोकारवालासँग यस विषयमा बिहीबार कामपामा भएको छलफलमा कामपा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मानव बेचबिखनको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै परिवर्तित मानसिकताले सिर्जना गर्ने समस्या समाधानको बाटो खोज्नुपर्ने बताए ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट मानिसलाई लोभ देखाउने, आफूप्रति आकर्षित गर्ने र श्रम तथा यौन क्षेत्रमा प्रयोग गर्ने समस्या बढिरहेको उपप्रमुख खड्गीको भनाइ छ ।
छलफलमा सहभागी शान्ति फाउण्डेशनका जिल्ला परियोजना अधिकृत शान्ता ढकालले बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको बताए ।
कार्यक्रममा अन्य सहभागीले मावन बेचबिखन र ओसारपसारका दृष्टिले अपराधको प्रकृति फेरिएको बताए । उनका अनुसार खाजाघर, वैदेशिक रोजगार, मनोरञ्जन क्षेत्र अहिले शहरका जोखिमपूर्ण क्षेत्र हुन् ।
पहिले शारीरिक सम्पर्कका लागि ओसारपसार र बेचबिखन हुनेमा अहिले श्रमका नाममा आन्तरिकरूपमा ओसारपसार र श्रम शोषण हुने गरेको भन्दै त्यसतर्फ ध्यान दिन उले आग्रह गरे ।