काठमाडौंबाट ४ जना रक्तचन्दन ‘तस्कर’ पक्राउ

काठमाडौं । अवैध रुपमा रक्तचन्दनको तस्करी गरेको आरोपमा काठमाडौंबाट ४ जना पक्राउ परेका छन् ।

अवैध रुपमा रक्तचन्दनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बौद्धबाट अवैध रक्तचन्दनसहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट २१ किलो रक्तचन्दनका २ वटा मुढा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ ठण्डापानी घर भइ काठमाडौंको बौद्ध बस्दै आएका १८ वर्षीय सुनिल तामाङ, नुवाकोटकै म्याजम गाउँपालिका–५ घर भइ बौद्ध बस्ने २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रेको तिमाल गाउँपालिका–८ घर भइ ललितपुरको पाटन बस्ने २९ वर्षीय कर्नेल तामाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ घर भइ बौद्ध बस्ने ४२ वर्षीय लाक्पा लामा छन् ।

काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुले बुद्धभूमि टोलमा रहेको डमरु कारखाना (फर्निचर मिल)मा खानतलासी गर्दा प्रहरीले २१ किलोग्रामका २ मुढा रक्तचन्द फेला पारेको हो ।

बरामद रक्तचन्दन १ लाख ८६ हजार १ सय ५० रुपैयाँ बराबरको रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button