काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको आदेश पुनः १ साताको लागि थपिएको छ । यसअघि भदौ ३ गतेदेखि जारी गरिएको आदेशलाई निरन्तरता दिँदै भदौ १७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो । यसअघि मंगलबार कााठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उपत्यकामा पुनः १ साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो । यसअघि जारी भएको निषेधाज्ञाको अवधि सकिने दिन बुधबार नै पुनः एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना भाइरस संक्रमणको जोखिम कम नभएकाले पुनः म्याद थप गरी भदौ १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकाराी दिएका छन् । निषेधाज्ञा लगाइएको समयमा औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्तिले घरबाट निस्किन पाउने छैनन् । यस्तै, अत्यावश्यक सामग्रीको ढुवानीका लागि प्रयोग भएका, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पनि रोक लगाइएको छ ।