काठमाडौं उपत्यकामा लगाइएको जोर–विजोर प्रणाली हटाउने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा लगाइएको जोर–विजोर प्रणाली हट्ने भएको छ ।

पछिल्लो समय जोर–विजोर प्रणालीको प्रभावकारिता कम हुँदै गएपछि हटाउने तयारी गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारीले सवारी साधनमा जारी जोर–विजोर प्रणाली हटाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

‘कोरोना संक्रमण नियन्त्रणका लागि भनेर लागू गरिएको जोर–विजोर प्रणालीको प्रभावकारिता घट्दै गएको छ । अब यसको विकल्पको बारेमा सोच्नुपर्छ भनेर छलफल शुरु भएको छ,’ ट्राफिक महाशाखाका ती अधिकारी भन्छन्, ‘अब एक–दुई दिनमै जोर–विजोर प्रणाली हटाउने विषयमा निर्णय हुन सक्छ ।’

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले गत वर्षको चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दी (लकडाउन) घोषणा गरेको थियो ।

साउन पहिलो सातादेखि लकडाउन खुकुलो भएसँगै सवारीका साधन पनि निर्वाध गुड्न थालेका थिए । तर, काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना संक्रमण दर बढेपछि पुनः निषेधाज्ञा जारी गरिएको थियो ।

निधेधाज्ञा खुकुलो भएपनि गत भदौ २५ गते यता सवारी साधनमा जोर–विजोर प्रणाली लागु गरिएको थियो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा चल्ने सवारी साधनमा जोर–विजोर प्रणाली अपनाउने निर्णय गरेको थियो ।

तर, पछिल्लो समय जोर–विजोर प्रणाली प्रभावकारी कार्यान्वयन भने हुन छाडेको थियो । विहानीको समयमा चल्ने सवारी साधनको हकमा जोर–विजोर प्रणाली लागू गर्ने गरिएपनि दिउँसोको समयमा भने प्राय सबै सवारी–साधन निर्वाद जस्तै चल्दै आएका छन् ।

‘भिडभाड नहोस् भनेर जोर–विजोर प्रणाली लागू गरिएको हो । तर, अहिले सरकारले अनुमति नदिएपनि जुलुस र विभिन्न सभाहरु भइरहेका छन् । त्यस्ता सभा र जुलुसहरुमा मानिसको सहभागिता पनि उल्लेख्य छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक अधिकारी भन्छन्, ‘विस्तारै सबै क्षेत्र खुला हुँदै गएपछि अब सवारी–साधनमा मात्रै जोर–विजोर प्रणाली लगाइरहनु पर्छ भन्ने पनि छैन । यो प्रणाली अब हट्छ ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीका अनुसार जोर–विजोर प्रणाली हटाउने सन्दर्भमा अहिले गृह मन्त्रालयसँग पनि छलफल चलिरहेको छ । गृह मन्त्रालयबाट राय लिएर जोर–विजोर प्रणाली हटाउने सम्बन्धमा निर्णय हुन ती अधिकारी बताउँछन् ।

तस्वीर– प्रतिकात्मक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button