काेराेनाका कारण रोजगारी गुमाएकाहरुलाई काठमाडौं महानगरले श्रममा आधारित रोजगारी दिने

२८ कात्तिक, काठमाडौं । काेराेना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई काठमाडौं महानगरपालिकाले श्रममा आधारित रोजगारी दिने भएको छ ।
महानगरले आज शुक्रबार एक सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
महानगरले कोभिड–१९ का कारण रोजगारी गुमाएका र श्रम गर्न सक्ने महानगरबासीलाई ‘जीवन निर्वाहको लागि पारिश्रमिक कार्यविधि, २०७७’ बमोजिम रोजगारी उपलब्ध गराउन लागेको हो ।
कोभिड महामारीका कारण दैनिकी धान्न अप्ठ्यारो परेका सबै बेरोजगारलाई रोजगारी दिन लागेको छ ।
महानगरबासीको दैनिक धान्न सजिलो होस् भनेर महानगरले साताको दुई दिन रोजगारी नभएकालाई रोजगारी दिन लागेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताउाुभयाे ।
‘कोभिडका कारण रोजगारी नभए आफ्नो दैनिक धान्न गाह्रो भएका बासिन्दालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो,’ उहाँले भन्नुभयाे, ‘उनीहरूले नेपाल सरकारले तोके अनुसारको पारिश्रमिक पाउने छन् ।
यसबाट उनीहरूको दैनिक गुजार चलोस् भन्ने हो । अर्को वैकल्पिक व्यवस्था नभएसम्मका लागि महानगरले महानगरबासीलाई रोजगारी दिएर जीवनयापन सहज बनाउन लागेको हो ।’
बरोजगारले आफ्नो सीप र क्षमताअनुसारको काम वडा कार्यालयले सिर्जना गर्नेछ र सम्बन्धित वडा कार्यालयलनै रोजगारी दिनेछ ।’ अर्को वैकल्पिक व्यवस्था नभएसम्म महानगरले उनीहरूलाई साताको दुई दिन रोजगारी दिनेछ ।’
महानगरले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमै कोभिडका लागि स्वास्थ्य उपकरण खरिददेखि बेरोजगारलाई रोजगारी सिर्जना गर्नको लागि ४० करोड बजेट छुट्याएको समेत प्रवक्ता डंगोलले जानकारी दिनुभयाे ।
रोजगारीका लागि फाराम भर्नुपर्ने गरी फारम महानगरको वेवसाइटमा राखिएको छ ।
जसमा आफ्नो परिचयसँगै, स्थायी र अस्थायी ठेगाना, उमेर, भाडामा बसेको हो भने घरधनीको नाम र सम्पर्क नम्बर तथा आश्रित परिवारको संख्या तथा सम्भव भए पहिलेको रोजगारदाताको विवरण पनि उल्लेख गर्न भनेको छ।