किम जोङ उनद्वारा सत्तारूढ पार्टीको अधिवेशन आह्वान

उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गर्नुभएको छ।
पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गर्नुभएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ।
मुलुकका ‘नीतिगत’ कमजोरीलाई सम्बोधन गर्न र संयुक्त राष्ट्र संघको नाकाबन्दीका कारण ‘रूग्ण’ बनेको अर्थव्यवस्थाको सुधारका लागि नयाँ पञ्चवर्षीय योजना बनाउन अधिवेशन बोलाइएको उल्लेख गरिएको छ।
प्योंङयाङ स्रोतका अनुसार केन्द्रीय समितिको बैठकले ‘राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि गम्भीर ढिलाइ भएको’ निष्कर्ष निकाल्नुका साथै उत्तर कोरियाली जनताको जीवनस्तरमा ‘उल्लेखनीय’ सुधार नभएको ठहर गरेको छ ।
बैठकमा किमले कोरियाली प्रायद्वीप वरपरको क्षेत्रमा विभिन्न बिषयमा अप्रत्याशित र अपरिहार्य चुनौतीहरु रहेका बताएको केसीएनएले उल्लेख गरेको छ।
उत्तर कोरियामा किमको नेतृत्वमा प्रतिबन्धित आणविक हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रमहरूको द्रुत विकास भएको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्, अमेरिका, यूरोपेली संघ (ईयूं) र अन्य शक्तिहरूले प्योङयाङमाथि प्रतिबन्ध लगाइरहेका छन्।