किसानलाई सीप सिकाउने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको योजना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले किसानका लागि नगद दिलाउने योजना ल्याएको छ । संघले विभिन्न सीपमूलक तालिम र अभियानमार्फत् किसानलाई थप आर्थिक उपार्जन गर्नसक्ने बाटो तयार गरेको हो ।
खेतीकिसानी गरेर फुर्सद भएको समयमा घरमै बसेर नगद कमाउने योजनालाई साकार पार्न सबैभन्दा पहिला चौतारा साँगाचोकगढी नगरपालिकाबाट सुरु हुँदैछ । सीपमूलक तालिमका लागि नगरपालिकासँग सम्झौता पनि हुँदैछ ।
नायिका श्वेता खड्काको पहलमा निर्माण भएको नगरको १४ नं वडाअन्तर्गत झ्याँडीगाउँको एकीकृत माझी बस्तीबाट कार्यक्रम अगाडि बढाइने तयारी गरिएको छ । माझी एकीकृत बस्तीका ५९ घरका एकएकजना सीपमूलक तालिमका लागि छनोट हुने भएका छन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघको वागमती प्रदेश र कीर्तिपूर नगर उद्योग संघले तालिमका लागि लगानी गर्दैछन् । सुरुमा २० लाख लगानी गर्ने योजना बनेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए ।
ढाकाको खादा र पस्मिनाको सल बनाउन आवश्यक कच्चा पदार्थ र सिलाइ मेसिन तान ल्याएर किसानलाई दिइने उनले जानकारी दिए ।
‘सिन्धुवासी किसान दाजुभाइलाई खेतीकिसानी गरेर उब्रेको समयमा घरमै बसेर काम गर्ने र नगद कमाउने मौका हामी तयार गर्न चाहन्छौं,’ थप काम गरेर महिनामा १०–१४ हजार कमाउने वातावरण तयार पारी आत्मनिर्भर बनाउने योजना रहेको सुनाउँदै उनले भने, ‘यो योजना कत्तिको सफल हुन्छ हेरेर जिल्लाभर सीपमूलक तालिमलाई अगाडि बढाइने छ ।’
माझी बस्तीमा सुरु गरिने सीपमूलक तालिमका लागि प्रस्ताव आएपछि नगरपालिकाले पनि सकेको सहयोग गर्ने योजना रहेको चौतारा साँगाचोकगढी नगरका मेयर अमानसिंह तामाङले बताए ।
‘सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले मलाई सीपमूलक तालिमबारे जानकारी दिएको छ । थप प्रस्ताव आएपछि बजेटसहित हामी काममा लाग्छौं,’ उनले भने ।
किसान परिवारमा जन्मेर व्यावसायिक सफलता चुमेका अध्यक्ष बस्नेत र किसान परिवारबाटै नगरको मेयर निर्वाचित भएका तामाङले संयुक्तरुपमा गर्ने यस्ता सीपमूलक तालिमले सबै ठाउँमा नयाँ उदाहरण प्रस्तुत गर्ने निश्चित छ ।
क्षमादेवी ग्रुप स्थापना गरेर बस्नेतले पाँच सय मानिसलाई रोजगारी दिएका छन् भने तामाङले पूर्वाधार, पर्यटन र जनजविनको क्षेत्रमा केही नयाँ काम गरेर जिल्लामा उदाहरण प्रस्तुत गरेका छन् ।