कृषि क्रान्तिको स्पष्ट खाकासहितको बजेट पारित गर्न किसान संघको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान संघले कृषि क्रान्तिको स्पष्ट खाकासहितको बजेट पारित गर्न सरकार माग गरेको छ । किसान संघले आगामी आर्थिक वर्षको बजेटलाई पुनरावलोकन गरेर कृषि क्रान्तिको स्पष्ट खाकासहितको बजेट पारित गर्न सरकार माग गरेको हो ।
चालु आर्थिक वर्षको बजेटमा भन्दा आगामी आर्थिक वर्षका लागि कृषिमा विनियोजित बजेटको आकार केही बढेको र किसान क्रेडिट कार्ड, खाद्यान्न स्टोर भण्डार निर्माण गर्ने जस्ता केही सृजनात्मकता देखिए पनि कृषिको उत्पादक क्षमता बढाउने र नयाँ रोजगारी सृजना गर्ने जिम्मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई दिइएकोप्रति असन्तुष्टि जनाएको छ ।
“लक्षित वर्गसम्म पुग्न नसकेको र व्यापक अनियमितता भएको भनी गम्भीर रुपमा आलोचित व्यक्तिलाई अनुदान दिने परिपाटी कायमै राखिएको छ,” किसान संघले भनेको छ, “अतः बजेटभित्र व्यवस्था गरिएका यो संयन्त्रहरुले नेपालको कृषिलाई कहीँ नपुर्याउने निष्कर्ष निकाल्दै नेपाल किसान संघ बजेटमा पुनरावलोकन गरी कृषि क्रान्तिको स्पष्ट खाकासहितको वजेट पारित गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।”
पश्चिमा मुलुकहरुबाट भारत प्रवेश गरिसकेको सलह किरा निकट भविष्यमै नेपालमा पनि प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर समयमै निवारणको व्यवस्था मिलाउन पनि किसान संघले सरकारसँग माग गरेको छ ।