‘केपी ओली सगरमाथाको शिरबाट नारायणीको तिरमा पुगे’: स्वास्थ्य मन्त्री खतिवडा
रामेछाप । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओली आफ्नै घमण्डले सगरमाथाको शिरबाट नारायणी नदीको तिरमा पुगेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी सुनापति गाउँपालिकाले आयोजना गरेको प्रथम अधिवेशनमा बोल्दै मन्त्री खतिवडाले नेपाली जनताले माया गरेर सगरमाथाको शिरमा पु-याएका केपी ओली आफ्नै घमण्डले गर्दा अहिले नारायणीको तिरमा पुगेको बताएका हुन् ।
झण्डै दुई तिहाइको बहुमतसहित बालुवाटार छिरेका केपी ओली आफ्नै मतिका कारण बालुवाटारबाट बालकोटको बारदली हुँदै अहिले नारायणीको बगरमा पुगेको र अबको उनको यात्रा पनि बगरकै रहेको मन्त्रीले जिकिर गरे ।
कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न सफल भएका केपी ओलीले अब पार्टीलाई मण्डलेकरण गर्दै नागर्जुनमा लगेर बुझाउने निश्चित रहेको बताउँदै अन्य राजनीतिक दलहरु होसियार हुन जरुरी रहेको उनले बताए ।
२०६२/६३ को जनआन्दोलन देखि नै केपी ओली गणतन्त्रको पक्षमा नरहेको स्मरण गर्दै स्वास्थ्य मन्त्री खतिवडाले त्यपछिका गतिविधिले केपी ओली मण्डलेहरुको पक्षमा रहेको पुष्टि गरीसकेको र आउँदो चुनावमा राप्रपासँग गठबन्धन गरेर आफ्ना कार्यकर्तालाई एउटा काँधमा हलो, अर्को काधमा सुर्य हालेर गाई धपाउँदै चुनाव प्रचारमा लगाउने निश्चित रहेको ठोकुवा गरे ।
संसद विघटनको प्रसंगमा मन्त्री खतिवडाले भने– ‘केपी ओलीले पहिलो पटक संसद विघटन गरेरको गलत भएको भन्दै सर्वोच्चले संसद विघटलाई बदर गरेको ८० दिन पुग्न नपाउँदै दोस्रो पटक संसद विघटन गरे । त्यसपछि संसदका बहुमत सदस्य सहितको हस्ताक्षर लिएर हामी सरकार बनाउन सक्छौ, ओलीले गरेको संसद भंगलाई बदर गर भनेर राष्ट्रपतिकोमा गयौँ । तर, राष्ट्रपतिले हामीले वैधानिक रुपमा गरेको हस्ताक्षरलाई नक्कली भन्दै पन्छाइन् । त्यतिबेला उनले केपी ओलीको चाकडी गर्दै प्रधानमन्त्रीको कारिन्दा बनिन् । त्यसपछि हामी फेरि सर्वोच्च गयौँ ।
सर्वोच्चले बहुमत सासंदले गरेको हस्ताक्षर सक्कली भएको र सरकार बनाउन मिल्ने भनेर आदेश जारी गरेर बनेको सरकारलाई परमादेशको सरकार भन्दै केपी ओली बौलाएर हिडेका छन् । यो सरकार १ सय ६५ जना सासंदको समर्थनमा बनेको हो । यसमा कुनै शंका छैन् ।’
कोभिड नियन्त्रणको लागि सिंगो सरकार लागेको र अहिले देशका सबै नागरिकलाई पुग्ने खोप जोहो गरिसकिएकाले सबै नागरिकलाई पूर्ण खोप लगाएर कोरोनाबाट सुरक्षित हुन मन्त्री खतिवडाले आग्रह गरे ।
स्वास्थ्य क्षेत्रमा जनशक्तीको अभावलाई अर्को व्यवस्था नहुँदा सम्म केही समयको लागि नेपाल सरकारको छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीहरुलाई करारमा खटाइसकिएकाले स्वास्थ्य संस्थामा जनशक्ती अभावमा सेवा नरोकिने पनि उनले बताए ।
स्थानीय तहका कुनै वडामा कुनै पनि प्रकारका स्वस्थ्य संस्थाहरु नभएको भएर स्वास्थ्य संस्था स्थापना गर्नको लागि मन्त्रालयले सहयोग गर्ने बताउँदै सम्बन्धित स्थानीय तहको सिफारिस सहित मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरे ।
नेकपा एकीकृत समाजबादी सुनपाति गाउँपालिकाका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेल, पोलिटब्यूरो सदस्य एवं सह इन्चार्ज होम बुढाथोकी, केन्द्रीय सदस्य शान्ता पौडेल, जिल्ला अध्यक्ष एवं मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, जिल्ला सचिव लालसिंह घिसिङ, नेकपा एकीकृत समाजबादी काठमाण्डौ–रामेछाप सम्पर्क मञ्चका अध्यक्ष सुवास खत्री, जिल्ला उपसचिव किरण मोक्तान, नेकपा एकीकृत समाजबादी जिल्ला सचिवालय सदस्य रमेशबाबु श्रेष्ठ लगायतका नेताहरुले बोलेका थिए ।
सुनापति गाउँपालिकामा दुर्गा घिमिरेको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी बनेको छ । त्यस्तै सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवी, वडा नं ४ बेथान र वडा नंं ५ खनियापानीको वडा कमिटि पनि गठन भएको नेकपा एकीकृत समाजबादीले जनाएको छ ।