के–केमा कर बढ्यो, के–केमा घट्यो ?

काठमाडौं । आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै नेपाल सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोरोना संक्रमण जोखिमका कारण कृषि, उद्योग तथा सेवा व्यवसायको पुनरुत्थान हुने गरी करका दर समायोजन छुट तथा सहुलियत प्रदान गरेको जनाएका छन् ।

बजेटमार्फत सरकारले लघु, घरेलु तथा साना उद्योग, कृषि, पशुपन्छीपालन, पशु उपचार र मास्क बनाउने उद्योगले पैठारी गर्ने मेसिनरी तथा कच्चा पदार्थ एवं कृषि फार्म तथा कम्पनी पैठारी गर्ने कृषि यन्त्र उपकरण तथा धान, मकै, गहुँ र तरकारीको वीउ पैठारी गर्दा लाग्ने भन्सार महसुल तथा कृषि सुधार शुल्क वृद्धि गरेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट बढी प्रभावित भएका हवाई सेवा, यातायात सेवा, होटेल, ट्राभल तथा ट्रेकिङ व्यवसायीलाई आर्थिक वर्ष २०७६/७७ को आय विवरण अनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने भएको छ ।

पर्यटन, ढुवानी व्यवसायी तथा चलचित्र घरलाई मूल्य अभिवृद्धि कर विवरण तथा कर दाखिला गर्ने अवधि बढाएर चौमासिक कायम गरेकोे छ ।

त्यसैगरि सरकारले औषधि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको पैठारीमा मूल्य अभिवृद्धि कर छुट दिई त्यस्तो वस्तु स्वदेशी उद्योगबाट खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिने भएको छ ।

आयुर्वेदिक औषधिको कच्चा पदार्थको भन्सार महसुल घटाएको छ । सेनिटाइजरको कच्चा पदार्थको रुपमा प्रयोग हुने इथानोल तथा पीपीईमामा अन्तःशुल्क छुट दिएको छ ।

त्यस्तै इन्टरनेट सेवा प्रदायकले फिक्स्ड ब्रोडव्याण्ड सेवा प्रदान गर्दा पचास प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने भएको छ ।

आफैं कार्यक्रम उत्पादन गरी प्रशारण गर्ने रेडियो तथा टेलिभिजन प्रसारण संस्थाले तिर्नुपर्ने कारोबार रकमको दुई प्रतिशत सेवा शुल्क पनि घटाएर एक प्रतिशत बनाएको छ । सरकारले एक दर्जनभन्दा बढी वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाएको छ ।

हरेक वर्ष जस्तै यसपटक पनि सरकारले चुरोट, सिगार गुट्खा, पानमसलामा लाग्ने कर बढाएको छ । उद्योगहरुले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको भन्दा कम्तिमा एक तह कम गर्न केही वस्तुको कच्चा पदार्थको भन्सार महसुल घटाएको पनि छ ।

सरकारले बजेटमार्फत हवाई इन्धन र एल.पि.ग्यास बाहेकको पेट्रोलियम पदार्थ र सुन तथा सुनका गहनामा लाग्ने भन्सार महसुलमा सामान्य वृद्धि गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button