के-के गर्छन् भारतीय सेना प्रमुख नरावणेले नेपालमा ?

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि केहीबेर अघि काठमाडौं उत्रिएका छन् ।

भारतीय सेनाको विशेष विमानमा उनी नेपाल आएका हुन् ।

विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन् । विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिनेछ ।

नरवणेको गाडीको अगाडि-पछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले स्कर्टिङ गर्नेछ । सुरक्षा चुनौतीका कारण पछाडि नेपाल प्रहरीको एउटा टोली पनि रहनेछ ।

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न काठमाडौं आएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ ।

सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्नेछन् । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे १८ औँ सेनापति हुनेछन् ।

नेपाली सेनाले भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुुलेक र लिम्पियाधुरा क्षेत्रका भूूभाग भारतले राजनीतिक नक्शामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुुदृढ तुल्याउन उनको यहाँ हुने भेटघाट महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।

स्थलसेनाध्यक्ष नरावणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गीअड्डामा उनले सैनिक गारत (सलामी) निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन् ।
सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौं बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरावणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ । उनको सम्मानमा बिहीबार नै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थलसेनाध्यक्ष नरावणेले शुक्रबार औपचारिक भेट गर्नेछन् । जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button