कैलाली घटनाको समाचार अतिरन्जित, ख्रीष्टियन समाजको स्पष्टोक्ति

निरोज तोलाङे, ललितपुर। प्रार्थनाद्वारा ब्युँताउँछु भन्ने दिपक चौधरी टिकापुर वा अन्यत्र कुनै पनि चर्चका पास्टर नभएको कुरा टिकापुर ख्रीष्टियन समाजले विज्ञप्ति जारि गरी प्रष्ट पारेको छ।

टिकापुर न.पा. वडा नं. १ शक्तिनगरको बाढीपीडित बस्तीमा बसोबास गर्ने दिपक चौधरी सामान्य विश्वासीमात्रै हुन्, तर उनलाई सो ठाउँका पास्टर हुन् भनेर अतिरन्जित समाचार बनाई सामाजिक तथा धार्मिक सद्भाव भड्काउने र समाजमा वितृष्णा फैलाउने काम गरिएकोमा स्थानीय ख्रीष्टियन समाजले आपत्ति जनाएको छ।

विज्ञप्ति प्रकाशित गर्दै सो समाजका अध्यक्ष तथा नेपाल ख्रीष्टियन समाजका केन्द्रीय उपाध्यक्ष पास्टर हिरालाल भाटले भन्नुभयो, “टिकापुर १ बाढीपीडित टोलमा घटेको घटनाको समाचारले हामीलाई लज्जितमात्रै भएका छैनौं, घटनाको विषयमा अतिरञ्जितढङ्गले समाचार प्रकाशन गरी सिङ्गो नेपाली ख्रीष्टियन समुदायलाई बदनाम गर्ने काम भैरहेकोप्रति हामी स्तब्ध भएका छौँ ।” विज्ञप्तिमा भनिएको छ, “एकै छिमेकमा रहेका मृतक मोतीराम डगौरा थारूलाई प्रार्थनाद्वारा ब्युँताउँछु भन्ने दिपक चौधरी टिकापुर वा अन्यत्र कुनै पनि मण्डली (चर्च) का पाष्टर होइनन् । उनले स्थानीय एक-दुईवटा चर्चमा बिगत केही समयदेखि संगति गर्दै आएको देखिन्छ । निज दिपक चौधरीले स्थानीय चर्चको पाष्टर बन्नका लागि कुनै पनि चर्च वा ख्रीष्टियन संस्थाबाट निश्चित प्रक्रिया पूरागरी तालिम एवं दीक्षा लिएको हुनुपर्नेमा त्यस्तो केही नभएको प्रष्ट छ। तर उनलाई चर्चको पाष्टर भनेर किन प्रचार गरियो भन्ने कुरामा हामी अचम्ममा परेका छौँ ।” सो विषयमा समाचार सम्प्रेषण गर्ने क्रममा देखाइएको लापरबाहीले सम्पूर्ण ख्रीष्टियन समुदायलाई बदनाम गर्न खोजिएको देखिन्छ, नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले बताउनुभएको छ।

“घटना आफैंमा गम्भीर र अप्राकृतिक देखिन्छ, मरिसकेको मान्छेलाई प्रार्थना गरेर ब्युँताउने विश्वास त्यसैपनि अस्वाभाविक कुरो हो । तर धर्मजस्तो अलौकिक आस्थाको अनुयायीले यस्तो विश्वास गर्न पनि सक्छ र यस्ता हर्कत कति ठाउँमा भएका पनि छन्। दिपक चौधरीले गरेको हर्कत पनि त्यही हो, जसलाई एउटा सिङ्गो समुदायलाई जोडेर प्रचार गर्नु दुर्नियतपूर्ण हो । यस्तो समाचारले समाजमा एउटा पक्षलाई बदनाम गर्ने र अल्पसंख्यक समुदायका विरुद्धमा घृणा फैलाउने कार्य गर्नु अनुचित र घातक हुनसक्छ” नेपाल ख्रीष्टियन समाजकाे अन्तरधार्मिक सम्बाद विभागका संयोजक डा. बि. पी. खनालले बताउनुभयो ।
उक्त घटनाको कारण स्थानीय ख्रीष्टियन समुदायमाथि आइलागेको यो अप्ठ्यारो परिस्थितिमा नेपाल ख्रीष्टियन समाजले नजिकमा रही काम गरिरहेको महासचिव डिल्लीराम पौडेलले बताउनुभएको छ। मुटुरोगले ग्रस्त मोतीराम डगौरा थारुको असामयिक मृत्युको कारण उत्पन्न यस बिषम घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै स्थानीय समुदाय र मण्डलीहरूको निम्ति प्रार्थना गर्न स्थानीय ख्रीष्टियन अगुवाहरूले सबैलाई अनुरोध गरेका छन्।
सो घटनाबारे टिकापुर ख्रीष्टियन समाजद्वारा जारि विज्ञप्तिको विस्तृत विवरण यहाँ दिइएको छ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button