कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र विस्तार भइरहेको छ, सावधान बन्नुहोस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अफ्रिकी मुलुकमा पहिचान गरिएको कोरोनाको ओमिक्रोन भेरियन्टको एशियाका केही मुलुकमा तीव्र विस्तार भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ।

विश्व स्वास्थ्य संगठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ भनी घोषणा गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको जनाउँदै नयाँ देखिएको यो भेरियन्टबारे समयमै सावधानी अपनाइ नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न सरकारले काम गरिरहेको जनाएको छ।

मन्त्रालयले कोभिड-१९ को ओमिक्रोन भेरियनटको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन अपिल गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता, डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूमा असर पार्ने देखिएको छ। त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि बिनम्र अनुरोध छ।’

खोपले कोभिड-१९ रोगबाट बचाउन मद्दत गर्ने भएकाले पायक पर्ने ठाउँमा गई खोप लगाउन उनले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button