कोरोना खोपः आजबाट बालबालिका केन्द्रित खोप अभियान सुरु

काठमाडौं । सरकारले आजबाट सबै (७ वटै) प्रदेशका ५७ वटा जिल्लामा बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप दिने भएको छ ।
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिन लागिएको हो । ३ वटा प्रदेशका ८ वटा जिल्लामा भने पुस १३ देखि २२ सम्म फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ ।
ती ८ जिल्लामा वागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला र सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेको छ । मन्त्रालयले १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
आजबाट शुरू हुने अभियानको शुभारम्भ स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवाडाले हेटौंडा उप–महानगरपालिकाको भुटनदेवी माध्यमिक विद्यालयबाट आज बिहान १० बजे गर्ने तय भएको छ । त्यसैगरी स्थानीय तहमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न दलका नेताले अभियानको सुरुआत गर्नेछन् ।
मन्त्री खतिवडाले सबै बालबालिकालाई खोप नलगाएसम्म निरन्तर रूपमा अभियान जारी रहने जानकारी दिँदै भने– ‘आफैं अध्ययन गरेको ऐतिहासिक विद्यालयबाट अभियानको शुरु गर्दै छु ।’
यसैबीच मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले बालबालिका लक्षित खोप अभियानको तयारी पूरा भइसकेको बताइन । उनका अनुसार धेरै विद्यार्थी भएको विद्यालयमा सोही विद्यालयमा र कम विद्यार्थी भए दुई तीनवटा विद्यालयको मिलाएर कुनै एउटा विद्यालयमा खोप लगाइनेछ ।
डा. मिश्रका अनुसार यसअघि फाइजर खोप दिएका जिल्लामा सोही खोप र अन्यमा मोर्डना खोप लगाइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १२ जिल्लामा दोस्रो चरणको फाइजर खोप अभियान चलाउने भएको छ ।
फाइजर खोप सञ्चालन हुने १२ जिल्लामा प्रदेश–१ को झापा, मोरङ र सुनसरी, प्रदेश २ को सप्तरी, धनुषा र पर्सा, गण्डकी प्रदेशको कास्की र वागलुङ, लुम्बिनी प्रदेशको रूपन्देही वागलुङ, दाङ र सुदूरपश्चिमको कैलाली गरी १२ वटा जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जिल्लास्थित जनस्वास्थ्य कार्यालयसंगको समन्वयमा स्थानीय तहले विद्यालयका प्रधानध्यापकसँग समन्वय गरी तथ्यांक संकलन गरी खोप लगाइने जनाएको छ । थोरै विद्यार्थी भएका विद्यालयमा केही विद्यालयसमेत जोडेर एउटैमा र २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा केन्द्र कायम गरी खोप दिइनेछ ।
मन्त्रालयले जारी गरेको सूचनामा विसं २०६१ मंसिरदेखि २०६६ मंसिरसम्म जन्मेका वालबालिकाका लागि खोपको व्यवस्था गरिएको छ । १२ वर्षमाथिका दीर्घ रोगीहरूका लागि फाइजर खोप सञ्चालन भएका २० जिल्लामा फाइजर खोप दिइने जानकारी दिँदै दुवै खोप पूर्णरूपमा सुरक्षित भएकाले ढुक्कसँग बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सार्वजनिक अपिल गरेको छ ।
आजबाट अभियान शुरू हुने जिल्लामा प्रदेश–१ को ११, प्रदेश २ को ५, वागमतीको ७, गण्डकी, लुम्बिनी र कर्णालीको प्रदेशको ९–९ र सुदूरपश्चिम प्रदेशको ७ वटा गरी ५७ जिल्ला रहेका छन् ।