कोरोना जोखिम : चितवन महोत्सव २९ गतेदेखि पूर्णरुपमा रोकिने

डिलकुमारी नेपाल / खुशमाया काउचा, चितवन । चितवनमा भईरहेको महोत्सव रोकिएको छ ।

आज भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी) सर्वपक्षीय बैठकले कोरोना संक्रमण बढ्दै गए सँगै मेला महोत्सव रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

पुस २५ गतेबाट शुरु भएको चितवन महोत्सव माघ ४ गते समापन हुने थियो ।

बैठकले चालु अवस्थामा रहेको चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको समय दिने निर्णय समेत गरेको छ। चितवन महोत्सव २९ गतेदेखि पूर्णरुपमा रोकिनेछ। यस्तै चितवनमै शुरु हुन लागेकाे रत्ननगर महोत्सव, खैरहनीमा हुने खिचरा महोत्सव र देवघाटमा हुने माघे संक्रान्ति मेला बन्द गर्ने समेत बैठकले निर्णय गरेको छ ।

साे बैठकमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, राजनीतिक दलका प्रतिनिधि, भरतपुर अस्पतालका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रतिनिधि, चिकित्सक लगायतका उपस्थिति रहेको थियो ।

बैठकमा सर्वसाधारणको स्वास्थ्य महत्वपूर्ण हुने भएको हुँदा मेला महोत्सव बन्द गर्नुपर्ने आवाजहरु यत्रतत्र धेरैको जनगुनासाे समेत रहेकाे थियाे।

कोरोना संक्रमण बढेसंगै आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न समेत आग्रह गरेको छ ।

सीसीएमसीसीको बैठकले २५ जनाभन्दा बढी मेला, महोत्सव लगायत भिडभाड जम्मा भएर गर्ने कार्यक्रम रोक्न गृह मन्त्रालय मार्फत् निर्देशन गरेसँगै शिक्षा मन्त्रालयले भोलि पुस २७ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button