कोरोना नियन्त्रणमा सरकार असफल भइसक्यो, हचुवामा निषेधाज्ञा जारी गरियो– कांग्रेस

कांग्रेसद्वारा गठित कोभिड १९ अनुगमन समितिका संयोजक एवम् पार्टीका महामन्त्री डा प्रकाशशरण महतले एक विज्ञप्ती जारी गर्दै सरकारले हचुवाका भरमा लकडाउन र निषेधाज्ञा जारी गरिरहेको पनि आरोप लगाएका छन् ।
कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति सरकार अझै पनि गम्भीर नभएको उल्लेख गर्दै महतले भनेका छन्, ‘सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दै छ ।’
‘उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । देशको विभिन्न भागहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका छन्,’ महतले विज्ञप्तीमा भनेका छन्, ‘अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिदो छ भने संक्रमण बढ्ने क्रम कम भएको छैन । कतिपय ठाउँहरुमा समुदाय स्तरमा समेत संक्रमण फैलिएको छ । निषेधाज्ञा लगाउने÷नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ ।’
कांग्रेसले सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक—सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको भएपनि सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको महतद्वारा विज्ञप्तीमा उल्लेख छ ।
‘हामी सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दछौं । साथै, तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न फेरि पनि माग गर्दछौं,’ महतले विज्ञप्तीमा भनेका छन् ।