कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी व्यवस्थित तरिकाले मच्छिन्द्रनाथको रथ तानियो

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ सेतो, रातो र पहेँलो पोशाकमा सजिएका मानिसले तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पु-याएका छन् ।

हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार आज अपराह्न चार बजेर ४५ मिनेटमा सो काम सम्पन्न भएको हो ।

ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले विश्वभरि फैलिदै गइरहेको नयाँ परिवर्तित रुपको कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी व्यवस्थित तरिकाले रथ तान्ने योजनानुसार काम गर्न सफल भएकामा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट हामीले सुस्तरीसुस्तरी रथ तानेर परम्परा धान्यौँ ।” सो स्थानमा उपस्थित भक्तजनले जयजयकारका नारासहित नाच अनि तालीमा रमेर उत्साहपूर्व तवरले शदियौँ वर्षअघिदेखि मान्दै आएको चलन जोगाउन सहयोग गरेको उहाँको भनाइ थियो ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यस वर्षको रथ तान्ने काम आज सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “लगभग डेढ सय मिटर परसम्म रथ तानेर राखियो ।

आउँदो बुधबार बिहान जुरेको साइतअनुसार लोकेश्वरको मूर्ति झिकी खटमा हालेर बुङ्मती लगिने र रथ फुकाल्ने काम अघि बढ्नेछ ।”

खड्गी अनि धिमेलगायत बाजा बजाएर सोको धुनमा करुणामयको रथ श्रद्धा र भक्तिका साथ तानिएको पाटन सुन्धारा निवासी सूर्यमान डंगोलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button